हेटौँडाः हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माविमा कक्षा ११ मा विज्ञान विषयको पठनपाठन सुरु भएको छ । यसै शैक्षिकसत्रदेखि विज्ञान संकायको सुरुवात गरेको आधुनिक राष्ट्रिय माविमा शुक्रबार विज्ञान प्रयोगशालाको उद्घाटन गरिएको छ । शुक्रबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।
विज्ञान संकाय सुरुवातको घोषणा तथा प्रयोगशाला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महानिर्देशक पौडेलले अहिले सामुदायिक विद्यालयहरुको स्तर सुधार गर्न आवश्यक रहेको बताउनुभयो । अहिले प्लस टुपछि विज्ञानका विद्यार्थीहरु कम हुँदै गइरहेको बताउनुहुँदै उहाँले विज्ञान कक्षालाई व्यवस्थित बनाएर जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । आफु पनि विज्ञानका विद्यार्थी भएको बताउनुहुँदै उहाँले यस क्षेत्रमा गर्नुपर्ने कामको बारेमा जानकार रहेको बताउनुभयो । उहाँले विज्ञानका विद्यार्थीका लागि कक्षा व्यवस्थित हुनुपर्ने र प्रयोगशालाहरु पर्याप्य मात्रामा हुनुपर्ने बताउनुभयो । आधुनिक माविले अहिले सरकारबाट पाउँदै आएको अनुदानहरुलाई आगामी दिनमा नतिजा र विद्यार्थी संख्याको आधारमा थप गर्दै जाने पौडेलले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईले पहिलो वर्षमा विज्ञान संकायमा ४३ जना विद्यार्थी भनाए भएको जानकारी दिनुभयो । २०६७ सालदेखि उच्च मावि तहमा मानविकी र शिक्षा संकाय सञ्चालन गर्दै आएको आधुनिकमा यस वर्षदेखि अग्रेजी माध्यममा व्यवस्थापन संकायलाई पनि सुरु गरेको उहाँले बताउनुभयो । विद्यालयले प्रयोगशाला तथा कक्षालाई व्यवस्थित बनाएर लैजाने उहाँले बताउनुभयो । शैक्षिक गुणस्तर र विद्यार्थी संख्याको आधारमा आधुनिक मावि अहिले पनि जिल्ला भित्रको सामुदायिक विद्यालयहरुभन्दा अग्रस्थानमा रहँदै आइरहेको बताउनुहुँदै उहाँले यसलाई निरन्तरता दिने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समीम अन्सारीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश शिक्षा निर्देशनालयका निमित्त निर्देशक पूर्णबहादुर दर्जी, शिक्षा विकास समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतम, राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख कृष्णप्रसाद घिमिरे, विद्यालय पूर्वप्रधानाध्यापक ऋषिराम पोखरेलको आतिथ्य रहेको थियो ।