विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा ।

हेटौंडाः आफ्ना कार्यकर्ताहरुलाई चलायमान बनाउने उद्देश्यसहित् नेपाली कांग्रेस मकवानपुरले सञ्चालन गरेको १० दिने आन्तरिक विशेष अभियान २०८० सम्पन्न भएको छ । पार्टीको केन्द्रीय परिपत्र अनुसार साउन २० गतेबाट सुरु भएको अभियान मंगलबार एक कार्यक्रमको बीच समापन गरिएको हो ।

विशेष अभियान समापन कार्यक्रमलाई केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले सम्बोधन गर्नु भयो । उहाँले कांग्रेसको नेता कार्यकर्ताहरुलाई चलायमान बनाउन, कार्यकर्ताहरुमा उत्साह थप्न तथा पार्टीलाई गतिशील बनाउनको निमित्त पार्टीले अभियान सञ्चालन गरेको बताउनुभयो । कार्यक्रमले पार्टी भित्रको कमिकमजोरीलाई सुधार गर्दै लैजाने बताउँदै नेता, कार्यकर्ता बीच भएको मनमुटाव तथा वैमनस्यतालाई हटाउँदै लैजान अभियानले सहयोग पुर्‍याउने उहाँले दावी गर्नुभयो ।

मकवानपुरमा कांग्रेसका भातृ संगठनको फेसबूक पेज हुनुपर्ने, पार्टीको सबै तहको नेताबीच समन्वय हुनुपर्ने, पार्टीको सबै भातृ संगठनका प्रतिनिधिहरुको विवरण जिल्ला, प्रदेश र संघमा पठाउन आवश्यक रहेको समेत् बताउनुभयो । पार्टीलाई बलियो बनाउन आम कार्यकर्ताहरुको विशेष भूमिका हुने भएकाले सबैले पार्टीलाई सहयोग गर्न उहाँले आग्रह समेत गर्नुभयो ।

जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षता तथा केन्द्रीय सदस्य लक्ष्मी खतिवडाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको हो । कार्यक्रममा विशेष अभियानको क्रममा गरिएका कामका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा काँग्रेस मकवानपुरका सचिव भिमसेन महतले जिल्लाको स्थानीय तहमा गएर गरिएको कार्यको प्रतिवेदन पेश गर्नुभएको थियो । जिल्ला सभापति बुद्ध लामाले केन्द्रीय परिपत्र अनुसार विभिन्न कार्यक्रमको आयोजना गरी पार्टीको भातृ संगठनलाई पूर्णता दिने काम गरेको बताउनुभयो । पार्टीमा भएको कमिकमजोरी सुधार गर्दै लैजाने हिसाबले काम गरेको बताउँदै केन्द्रमा पनि सुधारको आवश्यकता रहेकोले जिल्ला समिति बैठकबाट सुझाव दिने बताउनुभयो ।