मातहतका प्रहरी कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख राणा ।

हेटौँडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले गत आर्थिक वर्षको प्रगति विवरण र चालु आर्थिक वर्षको कार्ययोजनाका बारेमा जानकारी गराएको छ । प्रदेश प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर माथिल्लो निकायसँग भएको कार्यसम्पादन सम्झौताअनुसार लक्ष्य हासिल गर्ने गरी मातहतका कार्यालयसँग कार्यसम्पादन सम्झौता गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा गाँजा तथा अफिम जस्ता लागुऔषध प्रभावित क्षेत्रमा वैकल्पिक खेतीको रुपमा कफि खेतीलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको रेग्मीले बताउनुभयो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा वरिष्ठ प्रहरी उपरीक्षक रेग्मीले गैरसरकारी संस्थासँगको सहकार्यमा ५ लाख कफीका बिरुवा वितरण गरी व्यावसायिक कफी खेती प्रवद्र्धन गरी लागुऔषध खेतीलाई न्यूनीकरण गर्दै लैजाने बताउनुभयो । वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुहुँदै प्रहरीको सक्रियताले प्रहरी कार्यालयमा मुद्दाको संख्या बढेको रेग्मीले दावी गर्नुभयो ।

प्रहरीले गत आर्थिक वर्षमा भन्सार छली गरी भित्र्याइएका १८ करोड १० लाख रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिएको जानकारी दिनुभयो । गत आर्थिक वर्षमा बागमती प्रदेशबाट प्रहरीले ८ हजार ३ सय ८२ केजी गाँजा, ३८ हजार इन्जेक्सन लागुऔषध बरामद गरेको जनाएको छ । प्रहरीले अघिल्लो आर्थिक वर्षको तुलना गतवर्षदुई गुणा बढी अफिम खेती फँडानी गरेको छ । प्रदेशका २ सय ६७ जना प्रहरी कारवाहीमा पर्दा १ हजार ७६ जना प्रहरी पुरस्कृत भएका छन् । प्रहरीले २६ जनालाई वन्यजन्तु, अखेटोपहार, जडिबुटीसहित पक्राउ गरेको जनाएको छ । दुर्घटनामा परी अघिल्लो आर्थिक वर्षमा ४ सय १३ जनाको मृत्यु भएकोमा गत आर्थिक वर्षमा २ सय ९९ जनाको मृत्यु भएको रेग्मीले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा २ लाख ९१ हजार वटा सवारी साधनलाई कारबाही गर्नुका साथै २६ करोड ३६ लाखरुपैयाँ जरिवाना राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षका लागि प्रदेश प्रहरी कार्यालयले बुधबार नै मातहतका १४ वटा प्रहरी कार्यालयसँग कार्यसम्पादन सम्झौता गरेको छ । चालु आर्थिक वर्षमा प्रदेश प्रहरीले सिन्धुली जिल्लामा र मकवानपुर जिल्लाको रातोमाटेमा डिजिटल सिसिटिभी निगरानी गर्ने योजना बनाएको छ । १८ वटा हिरासत कक्षमा पुस्तकालय स्थापना गर्ने योजना बनाएको प्रदेश प्रहरी कार्यालयले मासिक रुपमा मातहतका कार्यालय प्रमुखसँग भर्चुअल बैठक गर्नुका साथै त्रैमासिकरुपमा भौतिक उपस्थितिमै बैठक गर्ने योजना बनाएको वरिष्ठ प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । सुरक्षा व्यवस्थामा सुधार गर्न चितवन, नुवाकोट र काभ्रे जिल्लास्थित प्रहरी कार्यालयमा स्मार्ट कन्ट्रोल रुम स्थापना गरिने बताइएको छ । केही समयअघि मकवानपुर जिल्लामा स्मार्ट कन्ट्रोल रुम स्थापना गरिएको थियो ।

यस्तै प्रादेशिक प्रहरी अस्पताल तथा विधि विज्ञान प्रयोगशाला निर्माणको कार्यलाई अगाडि बढाउने योजना पनि रहेको उहाँले बताउनुभयो । प्रहरी अस्पताल तथा विधि विज्ञान प्रयोगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले ३ करोड बजेट उपलब्ध गराएको छ । सिन्धुली जिल्लामा अत्याधुनिक सुरक्षा चेकपोष्ट निर्माण गर्न प्रदेश सरकारको २ करोड बजेट उपलब्ध गराएको जानकारी दिनुहुँदै रेग्मीले भन्नुभयो, “अत्याधुनिक सुरक्षा चेकपोष्ट निर्माणका लागि जग्गा व्यवस्थापन गर्न बाँकी छ । हामी छिट्टै जग्गा व्यवस्थापन गरेर भवन निर्माणको प्रक्रिया अगाडि बढाउने छौं ।” प्रदेशभर आत्महत्याको मुद्दा बढेको विषयमा पनि प्रदेश प्रहरी कार्यालयले चिन्ता व्यक्त गरेको छ ।