हेटौंडाः उच्च अदातल पाटन, हेटौंडा इजलासले गत आर्थिक वर्ष २०७९/०८० को प्रगति विवरण सार्वजनिक गरेको छ । सोमबार पत्रकारसँग अन्तरक्रिया गर्दै अदालतले गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक प्रगति विवरणअनुसार अदालतले मुद्दाको फर्छ्यौट दर बढाएको देखिएको छ । अदालतले गत आर्थिक वर्ष २०७९/०८० मा १ हजार ३ सय १२ मुद्दा फछ्र्यौट गरेको छ ।फर्छ्यौट हुनेमा पुनरावेदन १ हजार ७१ वटा, सुरु मुद्दा १ सय ३६ वटा, रिट र निषेधाज्ञा १ सय ५ वटा रहेका छन् । अब ४ सय २९ मुद्दा फर्छ्यौट गर्न बाँकी छ ।
गत आर्थिक वर्षमा अदालतमा १ हजार ७ सय ४१ मुद्दा रहेको थियो । अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ बाट ५ सय ४५ वटा मुद्दाको दायित्व सरेर आएको थियो भने १ हजार १ सय ९६ मुद्दा नयाँ दर्ता भएको थियो । गत आर्थिक वर्षमा सबैभन्दा बढी लागूऔषधको २ सय ८९ मुद्दा परेको थियो भने सबैभन्दा कम राहदानी र विनिमयका एक–एक वटा मुद्दा परेका थिए ।
उच्च अदालत पाटनको हेटौंडा इजलासले मकवानपुर र चितवन जिल्लाको मुद्दा हेर्ने गर्दछ । अदालतले आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ४५ मुद्दामध्ये ८ सय २६ मुद्दाको फछ्र्यौट गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ८ सय २९ मुद्दामध्ये १ हजार २ सय ४८ मुद्दामात्र फर्छ्यौट गरेको थियो ।
अदालतले चालु आर्थिक वर्षमा १ हजार २ सय ६७ मुद्दा दर्ता हुने अनुमान गरेको छ भने १ हजार १ सय ४ मुद्दाको फर्छ्यौट गर्ने लक्ष्य लिएको छ । दरबन्दीअनुसार ७ न्यायाधीशले १ सय ५७ वटाका दरले मुद्दा फर्छ्यौट गर्ने लक्ष्य अदालतले लिएको छ । अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको सभाध्यक्षतामा भएको अन्तरक्रियामा न्यायाधीशहरु राजेश्वर तिवारी, मेरिना श्रेष्ठ, निर्मला शाक्य र जगदीशप्रसाद भट्टलगायतको आतिथ्य रहेको थियो ।