हेटौंडाः जनता समाजवादी पार्टीका नेता तथा पार्टीका केन्द्रीय सल्लाहकार विद्युत बज्राचार्यले हेटौंडाको सडक विस्तार गर्न उच्चस्तरीय छानविन समिति बनाउन आवश्यक रहेको बताउनुभएको छ । शनिबार पार्टीले हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले सडक विस्तार गर्ने विषयमा विभिन्न षड्यन्त्र र अनियमितता हुँदै आएको दावी गर्नुहुँदै सरकारले उच्चस्तरीय छानविन समिति बनाएर छानविन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
२५–२५ गजभित्र पर्ने वास्तविक जग्गाधनीहरुले मुआब्जा नपाएको उहाँले बताउनुभयो । सरकारले नै जग्गाको लालपुर्जा दिएर कर उठाइरहेको अवस्थामा सडक विस्तार गर्ने कुराको छलफल गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले २०३४ सालदेखि भएको सड़कसम्बन्धी सम्झौता र निर्णयहरुको कागजातहरुलाई हेरेर छानविन गर्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले अधिकांश पार्टीका नेता तथा सरकारी कर्मचारीहरुले आफु सत्ता र पदमा हुँदा सडक भत्काउनु पर्छ भन्ने गरेको तर सत्ता र पदबाट बाहिरिएपछि उचित मुआब्जा नदिई सडक विस्तार गर्न पाइँदैन भन्दै आइरहेको आरोप लगाउनुभयो । उहाँले वास्तविक पीडितलाई क्षतिपूर्ति दिएर सडक विस्तार गर्नुपर्ने बताउनुभयो ।