हेटौंडाः हेटौँडा उपमहानगर क्षेत्रको सडकपेटीमा वृक्षरोपणको कार्य तीव्ररुपमा भइरहेको छ । हरेक शनिबार सम्बन्धित टोल विकास संस्थाको सक्रियतामा टोलको मुख्य तथा सहायक सडकको छेउ तथा पेटीमा बिरुवा रोप्ने कार्य भइरहेको छ । हालसम्म ७ सय २५ वटा बोट विरुवा रोपिएको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।
गत असार १५ गते वातावरण संरक्षण तथा सहरी वन कार्यक्रम अन्तर्गत सम्झौता गरी बोटविरुवा रोप्न सुरु गरिएको हो । वृक्षरोपण उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण थापाकाअनुसार हेटौंडा–४ र ५ नम्बर वडाभित्रका विभिन्न टोल विकास संस्थामा बिरुवा रोपेको छ । सीताअशोक, मिनि गुलमोहर, कल्कि, अशोक फुल, घन्टी फुल, असारे फुल, म्याङ्गो स्टिक, करविर, टक्कर, निलो जाई, इन्द्र कमल, धुपी मयुरपंखी, टिकुमा, अनार, हलुवा वेद रोपिएको छ ।
हेटौंडा उपमहानगरपालिकाको १७ लाख ८० हजार रुपैयाँ र उपभोक्ता समितिबाट एक लाख ९७ हजार रुपैयाँ गरी १९ लाख ७८ हजार रुपैयाँ बजेटमा वृक्षरोपणको कार्य गरिएको छ । बिरुवाको संरक्षण र सुरक्षाका लागि अग्लो तारजाली पनि लगाइएको छ ।