बाल संरक्षणबारे अन्तरक्रियाको तस्वीर

हेटौंडाः आगामी १६ औं पञ्चवर्षीय योजनामा बाल संरक्षणका सवालहरुबारे अन्तरक्रिया गरिएको छ । राष्ट्रिय बाल संरक्षण सञ्जाल, हिमाली नवीन समाज र फरगेट मी नटको आयोजनामा राष्ट्रिय आवधिक योजनामा बाल संरक्षणका सवाल विषयमा अन्तरक्रिया गरिएको हो ।

सञ्जालका अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षता तथा राष्ट्रिय बाल अधिकार परिषदको उपाध्यक्ष बमबहादुर बानियाँको प्रमुख आतिथ्यमा काठमाडौंको अल्फा हाउसमा अन्तरक्रिया भएको हो । अन्तरक्रियामा परिषद्का पूर्व कार्यकारी निर्देशक मिलनराज धरेलले कार्यपत्र प्रस्तुत गर्नुहुँदै १५ औं आवधिक योजनामा समेटिएका बाल संरक्षणका सवाल र प्रगति, नेपालमा देखिएको बाल संरक्षणका मुख्य सवालहरु, १६ औं पञ्चवर्षीय योजनामा सम्वोधन गर्न आवश्यक नयाँ सवालहरु र सम्भावित कार्यक्रमहरुको बारेमा प्रस्तुति गर्नु हुँदै पारिवारिक हेरचाह रणनीति आवश्यक रहेको र बालश्रम अन्त्यका लागि क्षेत्रगत अवधारणा अवलम्बन आवश्यक रहेको बताउनु भएको थियो ।

परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले बाल संरक्षणका सवालमा १६ औं योजनामा समेट्नु पर्ने विषयबस्तुमा आधारित छलफल आयोजना गरेकोमा धन्यवाद दिनुभयो । उहाँले सडक बालबालिकामुक्त राष्ट्र बनाउने अभियानमा सबैको समन्वय र सहकार्यका लागि आह्वान गर्नु भएको छ । बालबालिकासम्बन्धी ऐनबमोजिम बाल संरक्षण प्रणालीको सुदृढीकरणका लागि सरकारले बजेट बिनियोजन गर्न आवश्यक रहेको बताउनु भयो ।

सञ्जालका अध्यक्ष प्रकाश खतिवडाले १६ औं पञ्चवर्षीय योजनामा बाल संरक्षणको सवाल नछुटोस् भन्नाका लागि सरोकारवालाको बीचमा छलफल चलाइएको बताउनुभयो । उहाँले बालश्रम, बाल संरक्षण प्रणालीको सुदृढीकरण, विपदमा बालबालिका, बालबालिकाको पारिवारिक संरक्षण तथा स्याहारको अधिकारको सम्मान गर्न आग्रह गर्नुभयो । बालबालिकाको संवेगात्मक विकास र सुरक्षित प्रारम्भिक बालापनको आधारको रुपमा रहेको प्रारम्भिक बाल विकास कार्यक्रम सबै बालबालिकाको पहुँचमा पुग्ने सुनिश्चित हुनुुपर्नेमा जोड दिनुभयो ।

परिषद्की सदस्य विनिता खड्का श्रेष्ठले १५ औँ योजनामा अपाङ्गताको विषय छुट भएकोले अबको १६ औं योजनामा अपागङ्ताको क्षेत्रमा लगानी अभिबृद्धि गर्न आवश्यक रहेको बताउनु भएको थियो । बाल हिंसाबिरुद्ध राष्ट्रिय कार्य समन्वय समिति अध्यक्ष किरण थापाले सडकमा बालबालिका, बाल यौन दुव्र्यवहार, बालबालिका लागूपदार्थ सेवनकर्ताको रुपमा बढिरहेका अवस्थामा बाल संरक्षणको सवाल जटिल बन्दै गइरहेको बताउनुभयो । १६ औं पञ्चवर्षीय योजना बनाइरहँदा संवेदनशील हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।