हेटौंडाः हेटौँडा बजारमा भूइँकटहरको थोकमूल्य प्रतिगोटा १ सय १० रुपैयाँ रहेको छ । छिमेकी मुलुक भारतबाट आयात गरिएका भुइँकटहर अहिले हेटौँडा बजारमा पाइने प्रमुख फलफुल मध्येको एक हो । थोकमूल्य १ सय १० रुपैयाँ भए पनि उपभोक्ता मूल्य भने १ सय ८० रुपैयाँदेखि २ सय रुपैयाँसम्म कायम गरिएको पाइएको छ ।
हेटौँडा–१, राप्तीबगरस्थित थोक तरकारी तथा फलफुल बजारका व्यवसायी हरिओम साहका अनुसार अहिले भुइँकटहरको प्रमुख मौसम हो । यद्यपि अधिकांश फलफुल बाह्रै महिना उपलब्ध भइरहेका छन् । भुइँकटहर पनि बजारमा बाह्रै महिना उपलब्ध हुने गरेको व्यवसायी साह बताउनुहुन्छ । भुइँकटहर खुद्रा व्यवसायीले काटेर बिक्री गर्ने गरेका छन् भने केही व्यवसायीले जुस बनाएर पनि विक्री गर्ने गरेका छन् । व्यवसायीले ठेलामा राखेर भुइँकटहर बजार तथा आवासीय क्षेत्रमा डुलाएर विक्री गर्ने गरेका छन् ।
भुइँकटहर छिल्न झन्झटिलो हुने भएकोले व्यवसायीहरुले मिहिनेत गरेर बढी मूल्यमा विक्री गर्ने गरेका छन् । व्यवसायीको मिहिनेतका कारण पनि उपभोक्ताले बढी मूल्य तिरेर खरिद गर्ने गरेका छन् । रसिलो फल भुइँकटहर पूर्वि नेपालमा पनि राम्रो उत्पादन हुने गरेको व्यवसायीको भनाइ छ । मकवानपुर जिल्लामा पनि भुइँकटहरको उत्पादन हुने गरेको छ । मकवानपुर जिल्लाको उत्पादन सानो र थोरै भए पनि प्रमुख मौसममा बजारमा खरिद गर्न सकिन्छ ।
भारतबाट उल्लेख्य मात्रामा भुइँकटहर हेटौँडाको थोक बजारमा आयात भए पनि बजारमा खपत भने राम्रोसँग हुन नसकेको थोक व्यवसायी साहले बताउनुभयो । गत वर्षको तुलना केही महंगो भएकोले उपभोक्ताले मूल्य सुनेपछि किन्न आनाकानी गर्ने गरेको साह बताउनुहुन्छ ।