हेटौँडा–१०, बसपार्कस्थित बद्रि साहको थोक पसलमा अदुवाको थुप्रो ।

हेटौंडाः हेटौँडामा अदुवाको थोक मूल्य प्रतिकेजी २ सय रुपैयाँ पुगेको छ । वर्षा लागेसँगै अदुवाको मूल्य बढेको हो । १० दिन अगाडि थोक बजारमा प्रतिकेजी २ सय ५० रुपैयाँमा अदुवा विक्री भइरहेको थियो । भारत निर्यात हुन नसकेपछि अदुवाको मूल्यमा गिरावट आएको व्यवसायीको भनाइ छ । यस्तै नेपालकै पाल्पा र पूर्वी नेपालमा अदुवाको उत्पादन सुरु भएसँगै मूल्यमा ह्रास आएको हेटौँडा–१०, बसपार्कस्थित अदुवाको थोक विक्रेता बद्रि साहले जानकारी दिनुभयो ।

अब अदुवाको मूल्यमा गिरावट आउने साहको भनाइ छ । एक साताअघिसम्म किसानसँगै २ सय ५० रुपैयाँ प्रतिकेजीमा अदुवा किनेको उल्लेख गर्नुहुँदै साहले भन्नुभयो, “अहिले हामीले किसानसँग प्रतिकेजी १ सय ७० रुपैयाँसम्ममा खरिद गरिरहेका छौं ।” एक साताअघि अदुवाको मूल्य बढेर त्रसित बनेका उपभोक्तालाई अहिले केही राहत पुग्ने अपेक्षा गरिएको छ । थोक बजारमा २ सय ५० रुपैयाँ प्रतिकेजी मूल्य कायम हुँदा उपभोक्ताले प्रतिकेजी ३ सय ५० रुपैयाँभन्दा बढीको दरमा अदुवा किन्न बाध्य थिए । मूल्य बढेकै कारण अदुवाको विक्रीमा समेत कमि आएको हेटौँडा–१, राप्तीस्थित थोक तरकारी बजारका व्यवसायी सर्वेन्द्र बर्तौलाले जानकारी दिनुभयो । “एक्कासी मूल्य बढेपछि माग घट्यो”, बर्तौलाले भन्नुभयो, “अहिले फेरि मूल्य केही घटेको छ ।”

मकवानपुर जिल्लामा हेटौँडा उपमहानगरको हटिया, हर्नामाडी, पदमपोखरी क्षेत्रमा अदुवाको उत्पादन हुन्छ । यस्तै मकवानपुरको मकवानपुरगढी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, राक्सिराङ गाउँपालिकामा अदुवाको राम्रो उत्पादन हुने गरेको छ । फागुन चैतमा अदुवा रोपिन्छ । बैशाख, जेठमा माउ अदुवा झिकेर बेच्ने किसानले माघ, फागुन महिनामा नयाँ अदुवा खन्ने गर्छन् । अदुवाको बजार मूल्यका आधारमा किसानले ढिलो चाँडो अदुवा खन्ने व्यवसायीको भनाइ छ । अदुवाको मूल्य राम्रो नहुँदा किसानले १/२ महिना ढिलो गरी अदुवा खन्न सक्छन् ।

अदुवा उत्पादन हुने मुख्य समयमा प्रतिकेजी थोक मूल्य ४० रुपैयाँ भन्दा कममा समेत विक्री हुन्छ । उत्पादनको मौसममा मकवानपुरको अदुवा काठमाडौं, बुटवल, पोखरा, भैरहवा, बीरगन्ज र चन्द्रनिगाहपुरसम्म निर्यात हुने गरेको छ । मकवानपुरको अदुवा भारत समेत निर्यात हुने गरेको व्यवसायी साह बताउनुहुन्छ । गत वर्ष अदुवा उत्पादन हुने प्रमुख समयमा किसानले कम मूल्य पाएका कारण यो वर्ष अदुवा खेती भएको छ । खेती कम गरेसँगै यस वर्ष मागको तुलना आपूर्तिमा कमि हुने व्यवसायीको भनाइ छ ।