हेटौंडाः मकवानपुरमा गत आर्थिक वर्ष २०७९/०८० मा सवारी दुर्घटनामा परी ६१ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा २ सय ५२ सवारी दुर्घटनामा ६१ जनाको मृत्यु भएको हो ।
गत आर्थिक वर्षमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या आर्थिक वर्ष २०७८/०७९ को भन्दा केही कम हो । आर्थिक वर्षमा २०७८÷०७९ मा ३ सय १७ सवारी दुर्घनामा ७० जनाको मृत्यु भएको थियो ।
गत आर्थिक वर्ष २०७९/०८० को साउनमा २० सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो । भदौमा १७ दुर्घटनामा ४ जनाको, असोजमा २४ दुर्घटनामा १० जनाको, कार्तिकमा २० दुर्घटनामा ५ जनाको, मंसिरमा १४ दुर्घटनामा ३ जनाको र पुसमा २० दुर्घटनामा ८ जनाको ज्यान गएको थियो । यस्तै, माघमा १९ दुर्घटनामा १ जनाको, फागुनमा ३० दुर्घटनामा ७ जनाको, चैतमा २४ दुर्घटनामा ६ जनाको, बैशाखमा २० दुर्घटनामा ५ जनाको, जेठमा १९ दुर्घटनामा ४ जनाको र असारमा २५ दुर्घटनामा ६ जनाको ज्यान गएको छ ।
सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेको छ । गत आर्थिक वर्षमा १ सय ८७ वटा मोटरसाइकल दुर्घटनामा परेको थियो । यस्तै, जीप र कार ५१, बस ३३ र ४८ वटा ट्रक दुर्घटनामा परेको ट्राफिक प्रहरीको तथ्यांक छ । ट्राफिक प्रहरीका अनुसार सबैैभन्दा बढी सवारी दुर्घटना पूर्व–पश्चिम राजमार्गमा हुने गरेको छ ।