हेटौँडाः बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालय सोमबारदेखि आफ्नै भवनबाट सेवाग्राहीलाई सेवा दिन सुरु गरेको छ । भवन निर्माण सम्पन्न भएको करिब ५ महिनापछि निर्देशनालयले प्रयोगमा ल्याएको शिक्षा विकास निर्देशनालयका निर्देशक पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।
सोमबार सामाजिक विकास मन्त्री कुमारी मोक्तानले भवनको उद्घाटन गर्नुभयो । साढे दुई तल्ले भवन सार्वजनिक निर्माण कार्यान्वयन इकाई धादिङ गजुरीले आर्थिक वर्ष २०७७÷७८ बाट बहुवर्षीय कार्यक्रम अन्तर्गत निर्माण कार्य सुरु गरेको थियोे । निर्माण कार्य सुरु गरिएको एक वर्षमा भवन निर्माण भएको हो । २० कोठे भवनमा परीक्षा शाखा, शिक्षक सेवा शाखा, आर्थिक प्रशासन शाखा, प्रशासन शाखा, उच्च शिक्षा शाखा, तथ्यांक शाखा, स्टोर, कार्यालय प्रमुखको कक्ष रहेको छ । सामाजिक विकास मन्त्रालयको २ करोड ८१ लाख रुपैयाँ लागतमा निर्माण कार्य सम्पन्न भएको हो । यसअघि हेटौंडा–१० स्थित किटजन्य रोग नियन्त्रण कार्यालयको भवनबाट शिक्षा विकास निर्देशनालय रहेको थियो ।