लालपूर्जा वितरण पछि खिचिएको सामुहिक तस्वीर ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–५ का भूमिहीन ११ जना सुकुम्बासीलाई लालपूर्जा वितरण गरिएको छ । शनिबार एक कार्यक्रमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले लालपूर्जा वितरण गर्नुभएको हो ।

पालिकाले ६४ परिवारको सिफरिस गरेकोमा भूमि आयोगले ११ परिवारको मात्रै लालपूर्जा वितरण गरेको छ । भूमि आयोगले सुकुम्बासी भूमिहीनलाई १ कठ्ठा जग्गाको मात्र लालपूर्जा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिनुभयो ।

भूमिहीन सिफारिस भएका ६४ परिवारमध्ये ११ परिवारको नेपालभर बाउबाजे कसैको नाममा जग्गा नभेटिएपछि आयोगले लालपूर्जा प्रदान गरेको हो । पालिकाको हरेक वडामा जग्गा नाप्ने काम भइरहेको छ । लालपूर्जा वितरण गरेसँगै पालिकाले अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि नीतिगतरुपमा काम सुरु गरेको उहाँको भनाइ छ ।

स्थानीय तहले चासो राखे पनि संघीय सरकारले चासो नदिनाले पालिकाका जनता सुकुम्बासी हुनुपरेको उहाँले जानकारी दिनुभयो । लालपूर्जा वितरण कार्यक्रममा सामजिक विकासमन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, लक्ष्मी श्रेष्ठ, भूमि आयोग मकवानपुरका अध्यक्ष बिष्णु दाहाल, नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा, पालिकाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।