हेटौँडा–५, पिप्लेस्थित बालज्योति माविमा प्रथम त्रैमासिक परीक्षा दिँदै विद्यार्थी । फाईल तस्विर ।

हेटौँडाः हेटौँडा उपमहानगरका केही विद्यालयहरुमा प्रथम त्रैमासिक परीक्षा सुरु भएको छ । नगरपालिकाको वार्षिक क्यालेन्डरअनुसार साउन २ गतेबाट सुरु हुने भनिएको परीक्षा साउन ९ गतेदेखि हुने बताइएको छ । वर्षाका कारण खहरे, बाढि आउने क्षेत्रका विद्यालयहरुमा भने परीक्षा नसारी साउन २ गतेबाट नै राखेको नगरस्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष सागर खतिवडाले बताउनुभयो ।

नगर भित्रका ७३ वटा सामुदायिक विद्यालयहरु मध्ये ३६ वटा विद्यालयको प्रश्नपत्र नगरस्तरीय शैक्षिक समन्वय समितिले बनाउने गरेको छ । ती विद्यालयहरुमा साउन ९ गतेबाट प्रथम त्रैमासिक परीक्षा हुने भएको छ । प्रश्नपत्र स्वयम्ले नै तयार गर्न विद्यालयहरुले परीक्षा सुरु गरेको हो । वर्षाका कारण विद्यार्थीलाई समस्या हुने विद्यालयहरुमा परीक्षा सुरु गरिसकेको खतिवडाको भनाइ छ । परीक्षा सकिएपछि विद्यालयहरुमा वर्षे विदा हुनेछ ।

हेटौँडा–५, पिप्लेस्थित बालज्योति माविले साउन २ गतेदेखि नै परीक्षा सञ्चालन गरेको छ । विद्यालयका शिक्षक चिरनिजीवी घिमिरेका अनुसार विद्यालयमा भर्ना भएकामध्ये बढीमा १० जना विद्यार्थी मात्रै प्रथम त्रैमासिक परीक्षामा अनुपस्थित छन् । १० कक्षासम्म पठनपाठन हुने बालज्योति माविमा १ हजार ४ सय ६० जना विद्यार्थी भर्ना भएका छन् ।