विभूति अधिकारीको कृति “अर्जुनदृष्टि” विमोचन गरिँदै ।

हेटौँडाः नवसर्जक साहित्य चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष बालकवि विभूति अधिकारीको कविता संग्रह “अर्जुनदृष्टि” विमोचन भएको छ । छन्द तरङ्गको आयोजनामा शुक्रबार काठमाडौंस्थित पद्योदय माध्यमिक विद्यालय कविता संग्रह विमोचन भएको हो । अधिकारीको १७ औं जन्मोत्वसको अवसरमा विमोचन कार्यक्रम भएको हो ।

छन्द तरङ्गका संयोजक तथा प्राध्यापक डा. रामप्रसाद ज्ञवालीको सभाध्यक्ष तथा वरिष्ठ भाषाविद्, बालसाहित्य अन्वेषक÷अभियन्ता प्राध्यापक डा. चुडामणि बन्धुको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कोभिड कहरका समयमा हेटौँडाबाट साहित्यकार दीपक गौतमले २०७७ जेठदेखि सञ्चालन गरेको ’नवसर्जक केन्द्रित अनलाइन साहित्यिक प्रशिक्षण अभियान’ मा धनगढी कैलालीबाट विभूति अधिकारी सहभागी हुनुभएको थियो । यसअघि अधिकारीले २०७७ चैत २ गते “अद्भुत इन्द्रेनी” खण्डकाव्य प्रकाशन गर्नुभएको छ ।

“अर्जुनदृष्टि” मा शास्त्रीय छन्दमा रचित विविध भावका ४९ वटा कविता संकलित छन् । प्रा.डा. बन्धुले अधिकारीमा काव्यप्रतिभा प्रचुर रहेको बताउनुभयो । अधिकारीद्वारा रचित दुवै कृति छन्द, भाव, विचार, बिम्ब, प्रतीक तथा अलङ्कार प्रयोगका हिसाबले उच्च कोटीको रहेको र “अर्जुनदृष्टि” मा समाविष्ट ४९ वटै कविता स्तरीय रहेको उहाँको भनाई छ । जन्मदिनको अवसरमा कृति विमोचन गरिएकाले उपस्थित सबैलाई उपहारस्वरुप कृति प्रदान गरिएको थियो । ऐरावती प्रकाशनले कृति प्रकाशन गरेको हो ।