हेटौंडाः नेपाल बक्सिङ संघको साधारणसभा सम्पन्न भएको छ । बुधबार पोखरामा सम्पन्न भएको छैठौं साधारणसभा तथा अधिवेशनमा संघको नयाँ कार्यसमितिमा मकवानपुरका ३ जना चयन भएका छन् । कार्यसमितिको उपाध्यक्षमा मकवानपुरका सविन भट्टाचार्य, सदस्यमा सुशील घिमिरे र मिलनध्वज राना मगर चयन हुनु भएको छ ।
जिल्ला अध्यक्ष समेत रहनुभएका नवनिर्वाचित केन्द्रीय समिति सदस्य घिमिरेले आगामी दिनमा नेपालामा बक्सिङ खेलको विकासमा जोड दिने बताउनुभयो । प्रत्येक जिल्लामा बक्सिङ खेलको विकास कसरी गर्न सकिन्छ भन्ने कुरामा लागीपर्ने घिमिरेले जानकारी दिनुभयो । दुई दिनसम्म चलेको अधिवेशनमा ४० जिल्लाबाट ७६ जना प्रतिनिधिहरु उपस्थिति भएका थिए । अधिवेशनले ४ प्रदेश समिति समेत गठन गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।