बालश्रमको अनुगमन गर्दै । फाइल तस्वीर ।

हेटौँडाः मकवानपुरमा बालश्रम दुरुपयोग गर्ने पूर्वप्रहरीसहित ११ जनालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरिएको छ । बालश्रम दुरुपयोग गर्ने पूर्वप्रहरी निर्मल थापासहित ११ जनालाई कारबाही गरिएको श्रम तथा रोजगार कार्यालय हेटौँडाका प्रमुख छन्द नारायण श्रेष्ठले जनाकारी दिनुभयो ।

पूर्वप्रहरी थापाले बालश्रम दुरुपयोग गरेको कसुरमा नगद ५ हजार जरिवाना र बालिकालाई ६ महिनाको पारिश्रमिक बापत ९० हजार रुपैयाँ तिराएको उहाँले बताउनुभयो । कार्यालयले बालश्रममा लगाउने अर्जुन नगरकोटीको ट्याक्टरबाट ७ जना बालकलाई उद्दार गरी जरिवाना वापत ७ हजार रकम तिराएको छ । यस्तै, शितलमहलचोकको वर्कसपबाट एक बाल श्रमिकलाई उद्दार गरी ३ हजार जरिवाना तिराएको छ । समीर अटो वर्कसपबाट एक जना, रुस्तम ब्याट्री वर्कसपबाट एक जना, होटल सैलुङबाट एक जना, कुटानीपिसानी मिलबाट एक जना, होटल डाँफेबाट एक जना, मोहमद स्किम चिया पसलबाट २ जना गरी १५ बालकश्रमिकको उद्दार गरिएको श्रेष्ठले जानकारी दिनुभयो । होटल गण्डकीबाट एक जना बालिका, होटल धादिङबाट १ बालिका, र पूर्वप्रहरी निर्मल थापाको घरबाट एक गरी ३ जना बालिका श्रमिकको उद्दार गरिएको छ ।

श्रेष्ठका अनुसार बालश्रममा लगाउने ११ जनालाई बालबालिकाको अवस्था हेरी जरिवाना गरी कार्यालयले ४४ हजार रूपैयाँको राजस्व संकलन गरेको बताउनुभयो । हेटौँडा उपमहानगरपालिका, सिविन नेपाल र श्रम तथा रोजगार कार्यालयको समन्वयमा बालबालिका उद्दार कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपलिकालाई बालमैत्री पालिका घोषणाको तयारी भइरहेका बेला बालश्रम भए, नभएको अनुगमन र कारवाहीले पनि तीव्रता पाएको छ । उपमहानगरले हरेक वडामा बालमैत्री सहजकर्ता खटाएर बाल क्लब निर्माण गर्दै आएको छ ।