आदरणीय सम्पादकज्यू
समृद्ध समाज दैनिक

बागमती प्रदेशको राजधानी हेटौँडाको मुख्य बजार क्षेत्रमै पर्ने पारिजातपथ समयमै मर्मत नहुँदा बाटो हिँड्ने यात्रुहरुले सास्ती झेल्नुपरेको छ । खाल्डाखुल्डीमा पानी जम्दा वर्षायाममा सडकमा पेटीमा हिँड्ने यात्रुले सवारीसाधनले छ्याप्ने हिलो–मैलो सहनु परेको छ । अझ मर्मतको अभावमा जर्जर भएको सडकका कारण दुर्घटनाको जोखिम त छँदैछ । केही समय अगाडि हेटौँडा–८ निवासी सुदीप गिरीले चलाएको स्कुटरलाई ठक्कर दिएर भागेको सवारी साधनको अत्तोपत्तो छैन । जसले स्कुटरको मात्र क्षति भएन कि उहाँकी छोरीको खुट्टामा चोट लागेर अहिले पनि दुःख झेख्नुपरेको त जगजाहेरै छ ।

त्यस्तै केही समय अगाडि विप्लव नेतृत्वको माओवादीले खाल्डाखुल्डी पुरेको भन्ने समाचार पनि सुन्नमा आएको थियो तर गर्नका लागि मात्र गरिएको देखियो । यसरी कहिलेसम्म हामी चुप लागेर टुलुटुलु हेरेर बस्ने सम्पादकज्यू ? स्थानीय चुनाव भएको लामो समय बितिसक्दा पनि निर्वाचित जनप्रतिनिधिहरुको ध्यान नपुग्नु बिडम्बनापूर्ण छ । सडक विकासको महत्वपूर्ण पुर्वाधार त हो नै सडक शहरको शोभा पनि हो । सडकको दूरावस्था भनेको शासन व्यवस्था र शहरीकरणको दूरावस्थाको पर्दा हो ।

आम जनताको दैनिकीसँग जोडिएको यत्ति ब्यस्त सडकको मर्मतमा स्थानीय सरकार र बागमती प्रदेश सरकारको ध्यान जान अब ढिला हुनु हुँदैन । यसका लागि अझै शसक्त भएर समाचार सम्प्रेषण गरी उक्त बाटो मर्मत गर्न दबाव सिर्जना गर्नुहुने छ भन्ने पूर्ण विश्वास लिएको छु । तपाईंले सम्प्रेषण गर्नुभएका धेरैजसो समाचारको सुनावाई हुने हुँदा यसको पनि सुनाइ हुन्छ भन्ने आश राखेकी छु ।