साधारणसभाको उद्घाटन समारोहमा सहभागी अतिथिहरु ।

हेटौँडाः केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार हेटौँडामा भएको छ । भलिबल खेलका तत्कालिन प्रमुख राष्ट्रिय प्रशिक्षक केशवलाल श्रेष्ठको २०७२ सालको भूकम्पमा परी निधन भएको थियो । भलिबल खेलमा उहाँको योगदानको कदर गर्दै हेटौँडामा प्रतिष्ठान गठन गरिएको छ ।

शनिबार प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षता तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् निवर्तमान नगरप्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले भलिबल खेलको प्रमुख राष्ट्रिय प्रशिक्षक जस्तो उच्च ओहोदामा पुगेर साझा भएर काम गर्न सक्नु, भलिबल खेलमा उल्लेखनीय योगदान पु¥याउनुभएकै कारण केशवलाल श्रेष्ठको निधनपछि प्रतिष्ठान गठन गरेर भलिबल खेलकै विकासमा केही सकारात्मक कार्य गर्न खोजेको बताउनुभयो । प्रतिष्ठानले असहज अवस्थामा पनि नगर, जिल्ला र राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्दै आएको र विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएको जानकारी गराउनुभयो ।

कार्यक्रममा निवर्तमान नगरप्रमुख हरिबहादुर महतले पछिल्लो समय हेटौँडामा खेल पूर्वाधारको विकास पर्याप्त हुँदै गएको र त्यसको संरक्षण र प्रयोग गरी राम्रा खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने औँल्याउनुभयो । ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले नयाँ खेलाडी उत्पादन गर्न एकेडेमी नै सञ्चालन गर्न आवश्यक रहेको बताउनुहुँदै वडाको तर्फबाट गर्न सक्ने काम गर्दै आएको र नगरमार्फत पनि उल्लेखनीय कार्य गर्न पहल गर्दै आएको बताउनुभयो । ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरेले विद्यालय तहमै खेलकुदका गतिविधि गर्न जरुरी रहेको बताउनुभयो । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीले खेलकुद संघका पदाधिकारीसँग छलफल गरेर वार्षिक खेल तालिका नै तयार पार्ने योजनामा रहेको पनि बताउनुभएको छ ।