हेटौंडाः आउँदो साउन ५ गते शुक्रबार विभिन्न क्षेत्रमा योगदान पुर्याउने ६ जना व्यक्तिलाई पुरस्कृत तथा सम्मानित गरिने भएको छ । मातृभूमि साहित्य समाज मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै पुरस्कृत गर्न लागिएको जनाएको हो ।
मकवानपुरका वरिष्ठ साहित्यकार आरआर चौलागाईलाई श्याम श्रेष्ठ स्मृति–मातृभूमि पुरस्कार–२०७९ बाट पुरस्कृत गर्न लागिएको समाजका अध्यक्ष माधव पोखरेलले जानकारी दिनुभयो । वरिष्ठ साहित्यकार चौलागाईलाई नगद १५ हजार रुपैयाँसहित पुरस्कृत गर्न लागिएको हो ।
‘इश्वरी स्मृति–मातृभूमि पुरस्कार–२०७९’ काठमाडौंका वरिष्ठ साहित्यकार शैलेन्द्र प्रकाश नेपालाई समर्पण गरिने बताइएको छ । होमनाथ बलदेवी मातृभूमि छन्द पुरस्कार–२०७९ चितवनका वरिष्ठ साहित्यकार लकाश पौडेललाई, ‘शेखर शर्मा रिजाल स्मृति– मातृभूमि शैक्षिक सम्मान–२०७९’ मकवानपुरका रामचन्द्र आचार्य ‘फुर्सती’लाई प्रदान गरिने बताइएको छ । यसैगरी ‘शेखर शर्मा रिजाल स्मृति–मातृभूमि शैक्षिक सम्मान–.२०७९’ मकवानपुरका मालती उप्रेतीलाई प्रदान गरिने बताइएको छ । नेपाल, पौडेल, फुर्सती र उप्रेतीलाई नगद १५÷१५ हजार रुपैयाँ राशिसहित पुरस्कृत गरिने जानकारी अध्यक्ष पोखरेलले दिनुभयो ।
यस्तै ‘झलकबहादुर बानियाँ जीवन संघर्ष–मातृभूमि सम्मान– २०७९’ बाट हेटौंडा–१८ हर्नामाडीमा रहेको कमला आधारभूत विद्यालयका एक विद्यार्थीलाई नगद ७ हजार ५ सय रुपैयाँ राशिसहित सम्मानित गर्न लागिएको उहाँले बताउनुुभयो ।