हेटौँडाः हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले आयोजना गरेको निबन्ध प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कृत गरेको छ । कलेजको आयोजनामा गत जेठ १२ गते भएको ‘आमा’ शीर्षकको निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने प्रतियोगीलाई शुक्रबार पुरस्कार वितरण गरिएको हो ।
७० जना प्रतियोगीलाई पछि पार्दै निबन्ध प्रतियोगितामा ऋषि यादव प्रथम भएका थिए । प्रतियोगितामा कर्ण यादव द्वितीय, कृषाङ्गी अर्याल तृतीय, करुणा यादव र विशेषता थापा सान्त्वना भएका थिए । प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः १५ हजार, १० हजार, ८ हजार र ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । प्रतियोगितामा हयग्रीव आचार्य, निरा शर्मा र भवानी तिमल्सिना न्यौपानेले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
हेटौँडा स्कूल अफ म्यानेजमेन्टका सहायक प्रिन्सीपल रामपण्डित खनालको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका शिक्षक दीपक गौतमले स्वागत मन्तव्य राख्नुहुँदै आदिकवि भानुभक्त आचार्यको संक्षिप्त परिचय राख्नुभएको थियो । कक्षा १२ की रोशनी चौलागाईं, निराजन अर्याल र सिम्रन जयसवालले भानु विषयमा कविता वाचन गर्नुभएको थियो । प्रतियोगीमध्येबाट ऋषि यादवले आफ्नो अनुभूति सुनाउनुभएको थियो । कार्यक्रम सञ्चालन संयोजक देवराज तिवारीले गर्नुभएको थियो ।