हेटौंडा उपमहानगरपालिका कार्यालय ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक स्थल वरपर सुर्तीजन्य र मदिराजन्य पदार्थ बिक्रीवितरण गरिएको पाइए कारवाही गर्ने जनाएको छ । मंगलबार सूचना जारी गर्दै उपमहानगरपालिकाले यस्तो जनाएको हो ।

आउँदो मंसिर मसान्तभित्र हेटौंडा उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी गरिरहेको छ । बालमैत्री स्थानीय शासन घोषणालाई सार्थक बनाउन उपमहानगरले निषेधित क्षेत्रमा सुर्तीजन्य र मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न सूचना जारी गरेको हो ।

नेपाल सरकार र हेटौंडा उपमहानगरपालिको प्रचलित कानुन साथै हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको निर्णयअनुसार विद्यालय, कलेज, कार्यालय, अस्पताललगायत सार्वजनिक स्थलको १०० मिटर वरपर सूर्तीजन्य पदार्थ र २०० मिटर वरपर मदिराजन्य पदार्थ बिक्रीवितरण गर्न प्रतिबन्ध लगाइएको छ । कसैले कानुनको उल्लंघन गरी अटेर गरिएको पाइएमा त्यस्ता पदार्थ जफत गरी आवश्यक जरिवानासहित कानुनी कारवाही गर्ने सूचनामा जनाइएको छ ।

आगामी साउनदेखि सघनरुपमा अनुगमन हुने सम्पूर्ण व्यवसायीहरुमा जानकारीसमेत गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाकी प्रमुख बिष्णुकुमारी लामिछानेले जानकारी दिनुभयो ।