फाईल तस्वीर ।

हेटौँडाः हेटौँडा–१५, जाँतेमा आफ्ना दुई छोरालाई विष पिलाएर आफुले पनि विष पिएकी ३६ वर्षीया सोनी पाख्रिनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । गत मंगलबार मकवानपुर जिल्ला अदालतकी न्यायाधीश मनकुुमारी विकको इजलासले पाख्रिनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

पाख्रिनले जेठ १७ गते आफ्ना दुई सन्तानलाई विष पिलाएर आफूले पनि विष पिएकी थिइन् । विषादी सेवनबाट पाख्रिनकी १८ महिनाको छोरा जेनिस वाईबाको भने जेठ १८ गते उपचारको क्रममा मृत्यु भएको थियो । विषादी सेवनबाट गम्भीर भएका पाख्रिनकी अर्का ७ वर्षीय छोरा अस्किन वाईबा भने चितवनको भरतपुर मेडिकलमा करिब दुई साता उपचारपछि डिस्चार्ज भएको थियो ।

पाख्रिनविरुद्ध जेठ २९ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्दा दर्ता भएको थियो । विष पिलाएकी र आफु पनि पिएकी पाख्रिनलाई प्रहरीको निगरानीमा चितवन मेडिकल कजेजमा उपचारपछि असार १७ गते आइतबार जिल्ला अदालत मकवानपुरमा नियतपूर्वक ज्यान मारेको भनी ज्यान सम्बन्धी कसुर मुद्दा दर्ता थियो । यो प्रकरणमा अब साक्षी वकपत्र बुझ्नुपर्ने र सबै प्रमाण संकलन भएपछि मुद्दाको फैसला हुने कानुन व्यवसायी मोहनप्रसाद ढकालले बताउनुभयो । मुद्दामा दोषी ठहर भएमा पाख्रिनलार्ई ज्यान सम्बन्धी कसुरमा जन्मकैद वा २० वर्षको सजाय हुने सक्ने उहाँले बताउनुभयो ।

मकवानपुरमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३७ जनाले विष सेवन गरेर आत्महत्या गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १९ जना पुरुष, १६ जना महिला र एक–एक जना बालबालिकाले विष सेवन गरेर आत्महत्या गरेका छन् ।