हेटौंडाः वर्षाको समय सुरु भइसकेको छ । वर्षा ऋतु सुरु भएसँगै हेटौंडा अस्पतालमा डेंगुको जाँच गर्न बिरामी आउन सुरु भएको छ ।
डेंगुले वयस्कलाई छिटो संक्रमित बनाउने गरेको हेटौंडा अस्पतालका प्रयोगशाला प्राविधिक राजेन्द्र पौडेलले जानकारी दिनुभयो । हेटौंडा अस्पतालमा अहिले दैनिक ७÷८ जना डेंगु जाँच गर्न आउने गरेका छन् ।
अस्पतालले अहिलेभन्दा भदौबाट डेंगुको बिरामी जाँच गर्न आउने क्रम तिब्र हुने अनुमान गरेको छ । अनुमानसँगै अस्पतालले डेंगु बिरामीको लागि आवश्यक तयारी गरिसकेको छ । अहिले अस्पतालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोग, जनशक्ति, ठूलो मेशिन भएका कारणले विगतका वर्षमा जस्तो गाह्रो नहुने पौडेलले बताउनुभयो ।
पूरा बाउला भएको लुगा लगाउने, लामखुट्टेबाट बच्ने तेल लगाउने र झुल हालेर सुत्ने गरेमा डेंगु संक्रमणको जोखिम कम हुनेछ । डेंगुको लक्षणहरु टाउको दुख्ने, जिउ दुख्ने, हाइब्रिड ज्वरो, दागहरु आउने रहेका छन् । यदि कसैलाई डेंगु संक्रमण भयो भने प्रतिरक्षा बढाउने, आइसोलेसनमा बस्ने, औषधी खाने, प्लेन सिटामोल खाने र मुख्य गरी लामखुट्टेलाई आफूबाट संक्रमण हुन नदिने पौडेलले बताउनुभयो । डेंगु एउटा सर्ने रोग हो । भेक्टर बोर्न एडिस लामखुट्टेले टोकेर यो डेंगु एकअर्कामा सर्ने गर्दछ । अस्पतालले आपूर्तिको भर नपरी आफै मेशिन किनेर ५ सय रुपैयाँ शुल्क लिई डेंगु परीक्षण सेवा प्रदान गरिरहेको पौडेलको भनाइ छ । मानिसमा जनचेतना कम रहेकाले डेंगु रोगबारे जानकार भएर सावधानी अपनाए राम्रो हुने पौडेलले बताउनुभयो ।
अस्पतालको प्रयोगशालामा दैनिक ५ देखि ७ सय जनाको ब्लड जाँच गर्ने गरिएको छ । डेंगु बाहेक टाइफाइड, मलेरिया, कालाजार, मृगौला कार्य परीक्षण, पूर्ण रक्त कोशिका गणना जाँच गर्न आउने पौडेलले जानकारी दिनुभयो ।