गुगल तस्विर ।

हेटौँडाः फरक दुई घटनामा चितवन जिल्लामा दुईजनाको मृत्यु भएको छ । रुख ढलेर लाग्दा एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जथनाएको छ । भरतपुर महानगरपालिका–१, रामनगरकी ३४ वर्षीया आरती नहर्कीको रुढ ढलेर लाग्दा मृत्यु भएको हो ।

राजमार्ग छेउमा ठेलामा चिया पसल संचालन गर्दै आएकी नहर्कीलाई शनिबार सुकेको रुख ढलेर लाग्दा घाइते भएकी थिईन् । घाइते नहर्कीलाई उपचारका लागि सरकारी अस्पताल भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै माडी नगरपालिका–६, माछाचोकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा माछाचोककी ८८ वर्षीया गैमाया गुरुङ् रहेको प्रहरीले जनाएको छ ।

गत बिहिबार माछाचोकमा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना २६ प ८३३१ नम्बरको मोटरसाइकलले गुरुङलाई ठक्कर दिँदा गम्भिर घाइते भएकी थिइन् । मोटरसाईकलको ठक्करबाट घाइते गुरुङकोे बगौडा अस्पताल माडीमा सामान्य उपचार पश्चात थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा लगिएको थियो । उपचारको क्रममा गुरुङको आइतबार मृत्यु भएको हो । मोटरसाइकल चालक माडी–१, बस्ने ५२ वर्षीय महेश महतोलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।