बु फ्रि फ्राइडेको पहिलो दिन चित्रकलाको अभ्यास गर्दै विद्यार्थी ।

हेटौँडाः हेटौँडा–१७, हटियास्थित बालबोध माविका प्रधानाध्यापकले हरेक दिन विद्यार्थीसँग संवाद गर्नुहुने भएको छ । विद्यार्थीका मनमा रहेका ससाना कुराले उनीहरुको दैनिक पठनपाठन र क्रियाकलाप प्रभावित भइरहेको ठहर गर्दै विद्यालयले हरेक दिन नियमित पठनपाठन सकिएपछि दिनको ४ बजेदेखि ४ः३० बजेसम्म विद्यार्थीसँग संवाद गर्ने तय गरिएको प्रधानाध्यापक रमेश रिजालले जानकारी दिनुभएको छ ।

हरेक दिन फरक फरक कक्षाका विद्यार्थीसँग संवाद गरिने प्रधानाध्यापक रिजालले बताउनुभयो । ४ कक्षादेखि १२ कक्षाका विद्यार्थीसँग संवाद गरिने प्रधानाध्यापक रिजालले जानकारी दिनुभएको छ । शुक्रबार विद्यालय व्यवस्थापन समिति, वडाअध्यक्षसहित अभिभावकको समेत उपस्थितिमा यस्तो निर्णय गरिएको हो । यस्तै विद्यालयले हरेक शुक्रबार बुक फ्रि फ्राइडे अर्थात शुक्रबार विद्यार्थीले पाठ्यपुस्तक नलिई विद्यालय जाने व्यवस्था गरिएको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप अर्यालको अध्यक्षता तथा वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यमा बुक फ्रि फ्राइडेको उद्घाटन गरिएको छ । विद्यालयमा विविध क्रियाकलाप गरी सिक्ने, सिकाउने कार्य गरिने प्रधानाध्यापक रिजालले बताउनुभएको छ ।

जेठ महिनामा विद्यालय खुलेको पूरा दिन विद्यालयमा उपस्थित हुने शिक्षकलाई प्रशंसापत्र प्रदान गरिँदै ।
बुक फ्रि फ्राइडेका लागि विद्यालयले ८ वटा विधा बनाएको प्रधानाध्यापक रिजालले जानकारी दिनुभयो । पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई हरेक शुक्रबार नियमित पढाईलाई नै सहयोग गर्ने क्रियाकलापहरु गराइने उहाँले बताउनुभयो । शुक्रबारका लागि नृत्य, सीपमूलक क्रियाकलाप (डोको, नाम्लो, मुढा, टपरी, कुसन, डल बनाउने), प्राविधिक ज्ञान (मोवाइल, वाइरिङ, प्लम्बिङ, टिभि, कम्प्युटर मर्मत), सामान्य ज्ञानका लागि हाजिरीजवाफ, गणित, विज्ञान र सामाजिक शिक्षाको प्रयोगशालामा अध्ययन, अवलोकनको व्यवस्था मिलाइने प्रधानाध्यापक रिजालले बताउनुभयो ।

यस्तै शुक्रबारीय क्रियाकलापमै साहित्यिक कार्यक्रम (वक्तृत्वकला, कविता, गजल, मुक्तक, नाटक लेखकसीप), आर्ट एण्ड क्राफ्ट (चित्रकला, रंगभर, पीटी, मार्चपास), खेलकुद (एथ्लेटिक्स, भलिबल, फुटबल, कबड्डी, वुद्धिचाल), अनुसशासन (प्रस्तुतीकला, अभिप्रेरणामूलक प्रवचन कक्षा, ध्यान, योग, व्यावहारिक तथा नैतिक ज्ञान, सचेतनामूलक कार्यक्रम) र भाषाका कक्षा (अंग्रेजी, नेपाली बोल्ने, पढ्ने, लेख्ने) सञ्चालन गरिने उहाँले जानकारी दिनुभएको छ ।

यसअघि विद्यालयले हरेक महिना कक्षागत उत्कृष्ट विद्यार्थी र नियमित आउने शिक्षक, कर्मचारीलाई सम्मान गर्दै आएको छ । यसैक्रममा जेठ महिनाको उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको छ । जेठ महिनामा नर्सरी कक्षामा रिया खड्का, एलकेजी कक्षामा कृष श्रेष्ठ, युकेजी कक्षामा स्वेच्छा श्रेष्ठ, १ कक्षामा उर्वसी श्रेष्ठ, २ कक्षामा रिता तिमल्सिना, ३ कक्षामा प्रतिक भुजेल, ४ कक्षामा प्रतिभा निरौला, ५ कक्षामा सम्राट दाहाल, ६ कक्षामा गौरिसा घिमिरे, ७ कक्षामा सुयोग श्रेष्ठ, ८ कक्षामा रेष्ट्रिना रेग्मी, ९ कक्षामा सृष्टि भुजेल, १० कक्षामा स्वर्णिका रिजाल र कक्षा १२ मा आशिष गौतम उत्कृष्ट विद्यार्थी घोषित भएका छन् । यस्तै जेठ महिनामा पूर्ण उपस्थिति रहने शिक्षक, कर्मचारीमा दीपकलाल श्रेष्ठ, शंकर भण्डारी, बच्चु सापकोटा, सीमा हुमागाई, पुनम गोपाली र रिता लामिछानेलाई प्रशंसापत्र प्रदान गरिएको छ । बालबोध माविमा २८ जना शिक्षक, कर्मचारी हुनुहुन्छ भने ६ सय ५ जना विद्यार्थी अध्ययनरत छन् ।