आरती पाठक र प्रमुख डा. शंकरप्रसाद उपाध्यायलगायतले सम्मानपत्र प्रदान गर्नुहुदैँ ।

हेटौंडाः बागमती प्रदेशसभा सदस्य भारती पाठकले वन उद्यमको विकास गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार ग्रीन फाउण्डेसन नेपालले हेटौंडामा आयोजना गरेको उद्यमशीलता विकास र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद पाठकले हरेक क्षेत्रको मान्छेहरु व्यवसायसँग जोडिनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । आर्थिक हिसाबले बलियो भएमा सबै क्षेत्रमा अवसरमा प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । उहाँले अहिले देशभर १० हजारको हाराहारीमा सामुदायिक वन उद्यमहरु सञ्चालन रहेको बताउनुहुँदै यसमा व्यक्ति र समुदाय जोडेर जानुपर्ने बताउनुभयो । सांसद पाठकले वन उद्यमहरुले उत्पादन गरेको सामग्रीहरुको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

यस्तै, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्र्रीय सदस्य रामहरि चौलागाईंले वन उद्यम समूहहरुमा सरकारको लगानी कम रहेको बताउनुभयो । सरकारबाट बजेट प्राथमिकताका आधारमा छुट्याउन नसकिरहेको उहाँले बताउनुभयो । उहाँले वन उद्यम समूहहरुलाई आयआर्जनका कुरामा जोड्दै लानुपर्ने बताउनुभयो । यस्तै राष्ट्रिय बाल संरक्षण सञ्जालका केन्द्रीय अध्यक्ष प्रकाश खतिवडाले सरकारले उद्यमशीलताको विकास सम्भावनाबारे ध्यान दिनुपर्ने बताउनुभयो । युवाहरुलाई उद्यमशीलतामा जोडेर विदेश पलायन हुनबाट रोक्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुर र मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको सञ्जाल समूह मकवानपुरले गैसस मकवानपुरकी पूर्वकोषाध्यक्षसमेत रहनुभएका भारती पाठक, सामुदायिक वन उपभोक्ता महांसघको केन्द्रीय सदस्यमा निर्वाचित रामहरि चौलागाईं र मकवानपुर बहुमुखी क्याम्पसबाट बीबीए सातौं सेमेष्टरमा नेपाल टप गर्ने सृष्टि महर्जनलाई सम्मान गरिएको छ । गैसस मकवानपुरकी संयोजक रमिला सापकोटा, मानव अधिकार संरक्षण मकवानपुरकी संयोजक आरती पाठक र मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकरप्रसाद उपाध्यायलगायतले सम्मानपत्र प्रदान गर्नुभएको हो ।