हेटौंडाः आज सोमबार गुरु पूर्णिमा मनाइँदैछ । हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिनलाई गुरु पूर्णिमाको रुपमा मनाइन्छ । जीवनका विभिन्न कालखण्डमा शिक्षा–दीक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट एवम् गुरुको स्मरण गरेर आज गुरु पूर्णिमा मनाइँदैछ ।

महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीलाई परम्परादेखि नै गुरु पूर्णिमाको रुपमा मनाउने गरिएको छ । महाभारतका साथै अठार पुराण, विभिन्न ग्रन्थ तथा उपनिषद् लेखेर हिन्दू धर्म संस्कृतिमा अतुलनीय योगदान पु¥याउने वेदव्यासको सम्झनामा व्यास जयन्ती अर्थात् गुरु पूर्णिमा मनाउने गरिएको छ । गायत्री मन्त्र, वेद मन्त्र तथा अन्य दीक्षा सुनाउने र औपचारिक शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भन्ने बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको पाइन्छ ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिने गरेका कारण हिन्दू धर्मशास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानिएको छ । गुरु पूर्णिमाका अवसरमा विभिन्न विद्यालय, क्याम्पस एवम् शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीले कार्यक्रम गरी शिक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् । गुरु पूर्णिमाका अवसरमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा विद्यार्थीहरुले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गरी उपहारहरु प्रदान गर्ने गर्दछन् ।