वंशगोपाल माविको शिक्षकलाई प्रोजेक्टर हस्तान्तरण गरिर्दको तस्वीर ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका ६ नम्बर वडा कार्यालयले वंशगोपाल माध्यमिक विद्यालयलाई प्रोजेक्टर सहयोग गरेको छ । वडा अध्यक्ष विष्णुबहादुर दाहालसहित वडा सदस्यहरुले संयुक्त रुपमा शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठलाई ४ वटा प्रोजेक्टर हस्तान्तरण गर्नुभयो ।

वडाको २ लाख रुपैयाँ अनुदानमा विद्यालयलाई प्रोजेक्टर सहयोग गरेको वंशगोपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले जानकारी दिनुभयो । प्रविधिमैत्री शिक्षा प्रदानका लागि विद्यालयको प्रत्येक कक्षाकोठामा सिसि क्यामरा, प्रत्येक शिक्षकको हातमा ल्यापटप र प्रोजेक्टर हुनुपर्ने प्रधानाध्यापक लामिछानेको भनाइ छ । गत वर्ष प्रदेश सरकारले विद्यालयलाई २० वटा ल्यापटप सहयोग गरेको थियो । विद्यालय र शिक्षालाई प्रविधिमैत्री बनाउन १० वटा ल्यापटप, २२ वटा सिसि क्यामरा र १५ वटा प्रोजेक्टरको आवश्यकता रहेको लामिछाने बताउनुभयो । आउँदो शैक्षिक सत्रमा स्थानीय र प्रदेश सरकारबाट यस्ता सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो । वंशगोपाल माविमा करिव एक हजार विद्यार्थी र ३० जना शिक्षक छन् ।