हेटौँडाः बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानले बालगृहको अनुगमन गर्ने बताउनुभएको छ । हेटौँडामा शुक्रबार बिहान भएको एक कार्यक्रममा बोल्नुहुँदै मन्त्री मुक्तानले बालगृहहरु नियमसंगत सञ्चालन हुनुपर्ने र त्यसका लागि मन्त्रालयले अनुगमन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गरिबी, विद्यालयसम्मको सहज पहुँच नहुँदा विद्यालय तहकै अध्ययन पूरा नगरी बालबालिका श्रममा आउन बाध्य भइरहेको परिस्थिति उल्लेख गर्नुहुँदै उहाँले सरोकारवालाबीच समन्वयको जरुरी रहेको औँल्याउनुभयो । बालबालिकासँग सम्बन्धित नीतिहरु अन्तिम चरणमा पुगेको र छिट्टै पारित भई कार्यान्वयनमा जाने पनि उहाँले बताउनुभएको छ । बौद्धिक अपाङ्गता भएकाहरुका लागि प्रदेश सरकारले विद्यालय स्थापना गरी सञ्चालनको तयारी गरिरहेको पनि मन्त्री मुक्तानले जानकारी दिनुभएको छ ।
कार्यक्रममा बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले बालबालिकाको सन्दर्भमा ऐन, कानुन पर्याप्त रहेको तर, प्रभावकारी कार्यान्वयनको आवश्यकता औँल्याउनुभएको छ । संघीय सरकारले २०८२ सालसम्ममा बालश्रममुक्त मुलुक घोषणा गर्ने योजना महत्वाकांक्षी भएको उल्लेख गर्नुहुँदै सभामुख पाठकले बालश्रममुक्त मुलुक घोषणा गर्ने समयावधीको पुनर्मूल्यांकन गरी प्रभावकारी काम गरेर उपयुक्त समयमा घोषणा गर्नुपर्नेमा सरकार जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
बागमती प्रदेश बालअधिकार समिति, राष्ट्रिय बाल संरक्षण मञ्च, नेशनल इन्स्टिच्युट अफ कम्टेम्पोररी स्टडिज र बाल कल्याण समाज मकवानपुरको संयुक्त आयोजनामा बालअधिकार संरक्षण प्रणाली र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको हेरचाह सम्बन्धमा संसदीय छलफल कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरुले बालअधिकारको क्षेत्रमा ध्यानदिनुपर्ने विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।