किताब पढदै बाबालिकाहरु ।


मेरो घर बकैया गाउँपालिकाको कर्मचुलीमा हो । मकवानपुर बालविद्या सदनमा छात्रवासमा बसेर पढ्छु । विदामा घर जान्छु । तर यो पटक ईदको विदामा प्रिन्सिपल सरले घुमाउन लान्छु भन्नु भएकोले गर्दा हामी घर गएनौं । बिहिबार सरसँगै घुम्न गयौं । विद्यालयबाट पहिले हामी सरको घरमा गयौं । त्यहाँ हामीले फलफूल खायौं र करिब १ बजेतिर हामी म्याजिक गाडी चढेर घुम्न निक्लियौं । सबैभन्दा पहिले हेटौँडा औद्योगिक क्षेत्र पुग्यौं र त्यहाँ रहेको भ्याली पेलेट फिड प्रालि भन्ने कुखुराको दाना बनाउने उद्योग घुम्यौं । उद्योगमा हामी गाडिको तौल गरेको देख्यौं । उद्योग भित्र साह्रै राम्रो बगैंचा रहेछ । मलाई मनप¥यो । सरले हाम्रो फोटो पनि खिच्नुभयो । हाम्रो कुखुराले खाने दाना कसरी बन्दो रहेछ भन्नेकुरा हामीले त्यहाँ थाहा पायौं ।

विवश घलान

हामी भाटभटेनी पनि गयौं । आइसक्रिम र चकलेट पनि खायौं । किताबघरमा गएर किताब पनि पढ्यौं । तर मलाई आज सबैभन्दा मज्जा र खुसी चैं स्केटिङ खेल्न पाउँदा आएको थियो । स्केटिङ खेल्न शुरुम डर लागेको थियो तर सरले सम्झाउनु भएपछि खेलेँ । धेरैपटक लडेँ । पछि विस्तारै खेल्न जानेपछि खेलिरहन पाए हुन्थ्यो भन्ने लाग्यो ।

प्रविण दर्लामी मगर

म पनि बकैया कर्मचुली मै बस्छु । अहिले मकवानपुर बालविद्या सदनमा पढ्छु । होस्टल मै बस्छु । बिहिबार हामी हाम्रो भान्छे दिदीसँग साढे ११ बजेतिर विद्यालयबाट घुम्न भनेर हिँड्यौं । वहाँले सरको घरसम्म पुर्याई दिनुभयो । त्यसपछि दाना फ्याक्ट्री, लुगा बनाउने ठाउँ, भाटभटेनी, पुष्पलाल पार्क घुम्न गयौं । स्केटिङ पनि खेल्यौं । मलाई स्केटिङ खेल्न धेरै मज्जा आयो । हामीले मःम र सेकुवा खाजा खायौं । किताब पसलमा गएर एक घण्टा जति किताब पढ्यौं । भाटभटेनीमा सरले हामीलाई तरकारीको नामहरु अंग्रेजीमा भन्न सिकाउनुभयो । मान्छेलाई आफैं माथि लाने र तल ल्याउने भर्याङमा हामी धेरैपटक ओहोर–दोहोर गर्यौ। सरले चढ्ने र ओर्लने तरिका सिकाउनुभयो । शुरुमा म डराएको थिएँ । तर पछि चढ्न ओर्लन डर लागेन ।

वसन्त दर्लामी मगर

मेरो घर पनि विवश र प्रविणको घरसँगै हो । खासमा मलाई घुम्न जान मन लागेको थिएन । घरको याद आएर घरमै जाउँ जस्तो लागेको थियो । तर दुईजना साथीहरु चैं घुम्न जाने भएपछि म पनि घुम्न हिँडे । सरसँग धेरै ठाउँ घुम्दा मलाई साह्रै रमाइलो भयो । बजारमा गर्मी भएर सरले आफ्नो साथीको लुगा बनाउने अफिसमा लिएर जानुभयो । त्यहाँ चिसो थियो । सरले हामीलाई फुटबल खेल्न मन लाग्ने कुरा त्यो अफिसको अंकलसँग भन्नुभयो । त्यसपछि वहाँले हामीलाई धेरै कुरा सोध्नु भयो । कुन विषय मनपर्छ भनेर सोध्दा हामी तीनैजनाले गणित मनपर्छ भन्यौं । वहाँले हामीलाई फुटबल खेल्ने जर्सीको सेट, जुत्ता र फुटबल पनि दिन्छु भन्नुभएको छ ।

अलि चिसो भएपछि हामी त्यहाँबाट गयौं । स्केटिङ खेल्न पाउँदा धेरै खुसी भएँ । भाटभटेनीको छतको सबैभन्दा माथि मौरीले दुई ठाउँमा घार बनाएको रहेछ । एउटा घार ठूलो थियो अनि अर्को चैं सानो थियो । त्यो घारमा धेरै मह थियो जस्तो लाग्छ । पुष्पलाल पार्कमा पनि गयौं त्यहाँ म पहिला पनि गएको थिएँ । त्यहाँ गोल्डेन रंगको ठुलो माछा छ । अनि सानासाना माछा पनि धेरै छ । मैले किताबघरमा गएर “हजुरआमाको रिस” भन्ने किताब पढें । त्यसपछि हामी अटो चढेर घर आयौं । घर आउँदा करिब साढे सात बजेको थियो ।