हेटौँडाः मंगलबार प्रदेशको चितवन र सिधुली जिल्लामा छुटाछुटै घटनामा परि एकै दिन ३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा मोटरसाइकल अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा जिल्ला उतरगया गाउँपालिका–४ बस्ने २१ वर्षीय राजेश पौडेल रहेको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार दिउँसो १ बजेर १५ मिनेटको समयमा मुग्लिङबाट नारायणगढ तर्फ जाँदै गरेको बागमती प्रदेश०२–४० प ०५५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा पौडेल गम्भिर घाइते भएका थिए । घाइते पौडेललाई उपचारको लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा २ बजेर ३५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै मोटरसाइकलको पछाडी सवार २४ वर्षीय देब प्रसाद आचार्य मध्यम घाईते भई भरतपुर सरकारी अस्पतालमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–२, स्थित नारायणी नदीमा एक जना पुरुष व्यक्तिको शव फेला परेको छ । मंगलबार नारायणी नदी किनारको छेउमा नाम थरवतन नखुलेको अन्दाजी १६ वर्षीय पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात लास पोष्टमार्टमकोे लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
यस्तै, सिन्धुली जिल्लाको जुगल गाउँपालिका–३ अम्बाखर्कमा झाक्रीले दिएको जडिबुटी औषधी खाँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया कामी शेर्पीनी रहेको प्रहरीले जनाएको छ । मंगलबार चौतारा बस्ने र झारफुक गर्ने झाक्रीले दिएको जडिबुटी औषधी खाँदा शेर्पीनी बिरामी भएकी थिइन् । बिरामी शेर्पीनीलाई भई उपचारको लागी स्थानिय स्वास्थ्य केन्द्र तेम्बाथान लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले झाक्रीलाई पावलडाँडाबाट पक्राउ गरी नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।