सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग धराशायी बन्दै गएको छ । उद्योगले पूर्ण क्षमतामा सिमेन्ट उत्पादन गर्न नसक्दा घाटा बढ्दै गएपछि उद्योग नै धराशायी बन्दै गएको हो । मुलुकभर गुणस्तरीय सिमेन्ट उत्पादनमा ख्याति कमाएको हेटौंडा सिमेन्ट उद्योग विभिन्न कारणले बन्द हुने र क्षमताभन्दा ज्यादै कम उत्पादन हुने गरेको छ । उद्योगका मेशिन, उपकरण पुरानो हुनु र उद्योग व्यवस्थापनको लापरबाहीले उद्योगमा विभिन्न प्राविधिक समस्या आएर बारम्बार उत्पादन बन्द हुँदा उद्योग निरन्तर घाटामा गइरहेको छ । धेरै वर्षदेखि घाटामा रहेको उद्योगले विगतका केही वर्षमा सामान्य नाफा आर्जन गरेको भए पनि ३–४ वर्षदेखि निरन्तर घाटामा गइरहेको छ । बारम्बार उद्योगको उत्पादन बन्द हुने र क्षमताको निकै कममात्र उत्पादन गर्ने गरेका कारण उद्योग घाटामा गइरहेको छ । घाटा चुलिँदै गएपछि अन्य सार्वजनिक संस्थानको नियति हेटौंडा सिमेन्टले पनि बेहोर्नुपर्ने अवस्था देखिएको छ ।
वि.सं २०३३ सालमा शिलान्यास भई २०४२ सालबाट व्यावसायिक उत्पादन सुरु भएको हेटौंडा सिमेन्ट उद्योग कुनैबेला सिमेन्टको पर्याय बनेको थियो । सरकारी तथा व्यक्तिगत सबै प्रकारका भौतिक संरचना निर्माणमा हेटौंडा सिमेन्ट पहिलो रोजाइमा पर्दथ्यो । हप्तौंसम्म कुरेर भए पनि हेटौंडा सिमेन्ट प्रयोग गरेर संरचना निर्माण गर्ने गरिन्थ्यो । तर, अहिले निजी उद्योगहरुको दबदबा र उद्योग जीर्ण हुँदै गएपछि हेटौंडा सिमेन्टको अस्तित्व बचाउने चुनौती बनेको छ । उद्योगको प्रतिदिन ७ सय ५० टन सिमेन्ट उत्पादन क्षमता रहेकोमा अहिले क्षमताको ४० प्रतिशतभन्दा कम उत्पादन भइरहेको छ । उद्योगमा कोइला र विद्युत् धेरै खर्च हुने र कोइलाको मूल्यवृद्धि भएका कारण उद्योगको घाटा बढेको उद्योग व्यवस्थापनको भनाइ छ । सरकारले ९० करोड रुपैयाँ लगानी गरेर स्थापना गरेको हेटौंडा सिमेन्ट उद्योग अहिले २० करोड घाटामा रहेको छ । उद्योगलाई नाफामा लैजान क्षमताको कम्तिमा ७६ प्रतिशत उत्पादन हुनेगरी सञ्चालनमा ल्याउनुपर्ने बताइएको छ ।
उद्योग पूर्णरुपमा घाटामा भएकाले सरकारले थप बजेट उपलब्ध नगराए चल्न नसक्ने अवस्थामा पुगेको छ । उद्योगलाई आधुनिकीकरण गरी सञ्चालन गर्न १ अर्ब ६० करोड रुपैयाँ खर्चको अनुमानसहित उद्योग मन्त्रालयसमक्ष बजेट व्यवस्थापनका लागि पहल भइरहेको छ । उद्योगमा ६५५ जनाको दरबन्दी रहेकोमा अहिले १९६ जना कर्मचारी कार्यरत रहेका छन् । यति धेरै कर्मचारी कटौती हुँदा पनि उद्योग घाटामा गइरहनु र उद्योगले क्षमताको न्यूनमात्र उत्पादन गर्नुलाई सरकारले गम्भीररुपमा लिनुपर्ने देखिन्छ । उद्योगसँग अझै ८०–९० वर्षसम्म चल्नसक्ने आकर्षक चुनढुंगा खानी छ । धेरै टाढाबाट कच्चापदार्थ ल्याएर सञ्चालन भइरहेका निजी उद्योग नाफामा गइरहनु तर, नजिकैको खानीबाट कच्चापदार्थ ल्याउँदा पनि हेटौंडा सिमेन्ट घाटामा जानुलाई सामान्य मान्न सकिँदैन । उद्योगको स्वामित्वमा अरबौंको जग्गा रहेको र सोही जग्गा सरकारलाई बिक्री गरेर उद्योगले घाटा पूरा गर्ने योजना अघि सारेको छ । सचिवस्तरीय निर्णयबाट उद्योेगले ५ विघा जग्गा नेपाल राष्ट्र बैङ्कलाई दिने र त्यसबापतको पैसाबाट कर्मचारीको उपदानलगायत घाटा पूरा गर्ने योजना उद्योग व्यवस्थापनको छ ।
अहिले जग्गा दिएर तत्कालको घाटा पूरा गर्न सकिए पनि यो दीर्घकालीन उपाय होइन । उद्योगमा सरकारी स्वामित्व रहेकाले नाफा/घाटामा सरकारको दायित्व हुने भए पनि सधैं घाटामा उद्योग चलेको देखाएर सरकारसँग सहयोग मागिनु उचित हुँदैन । जीर्ण बन्दै गएको उद्योगको उत्पादन संयन्त्रको आधुनिकीकरण गरेर निजी उद्योगसरह सञ्चालन गर्न सरकारले स्पष्ट योजना अघि सार्नु आवश्यक छ । आर्थिक वर्ष २०७२/०७३ देखि लगातार तीन वर्षसम्म ७५ करोड नाफा गरेको उद्योग आर्थिक वर्ष २०७५/०७६ देखि निरन्तर घाटामा चलिरहेको छ । सरकारले बेवास्ता गर्ने र उद्योग व्यवस्थापन सरकारको भर पर्ने हो भने उद्योगलाई थप धराशायी बनाउँदै अन्ततः बन्द गर्नुको विकल्प रहनेछैन । अरबौंको सरकारी सम्पत्तिको सुरक्षा र सदुपयोगका लागि हेटौंडा सिमेन्ट उद्योगमा आधुनिक मेशिन, उपकरणको व्यवस्था गरेर सक्षम व्यवस्थापनमार्फत् उद्योग सञ्चालन गर्नु आवश्यक छ ।











