नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुअघि गाउँसभामा बजेटको ब्रिफकेस सभाका सदस्यलाई प्रदर्शन गर्नुहुँदै उपाध्यक्ष वनस्तम थिङ ।

हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित भएको छ । शनिबार गाउँ सभाको चौथो अधिवेशनमा पालिकाका उपाध्यक्ष वनस्तम थिङले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएकोमा सर्वसम्मत पारित भएको हो ।

पालिकाले आगामी आर्थिक वर्षका लागि ५९ करोड ९५ लाख २५ हजार रुपैयाँ बजेट ल्याएको छ । पालिकालाई केन्द्रबाट अनुदान मार्फत ४२ करोड ५९ लाख ७० हजार रुपैयाँ र प्रदेशबाट ७ करोड ७९ लाख ३२ हजार रुपैयाँ प्राप्त भएको थियो । गाउँपालिकाले पालिकामा बसाई सरेर आउने परिवारलाई घर निर्माण गरिदिने भएको छ । “सुन्दर समाज हाम्रो सार, बसाई सरी आउनेलाई घर उपहार” भन्न्ने नाराका साथ पालिकाले उक्त नीति ल्याएको उपाध्यक्ष थिङले बताउनुभयो । उहाँले भन्नुभयो, “राक्सिराङ गाउँपालिकामा बाहिरबाट जो–कोही परिवार बसोबास गर्ने गरी आएमा पालिकाले घर बनाइदिन्छौँ, अहिले मान्छेहरु सहरतिर मात्रै आकर्षित भइरहेको बेला गाउँ नै खाली होला भन्ने डर भएकोले यो नीति ल्याएका हौँ ।” पालिकाले बसाई सरी आउनेलाई २ कोठे घर निर्माण गरिदिने उहाँले बताउनुभयो ।

पालिकाले शिक्षातर्फ १५ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पालिको एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने, गाउँपालिका क्षेत्रभित्र सञ्चालित दश जोड दुई सञ्चालित विद्यालयहरुलाई आवश्यक पूर्वाधारका लागि अनुदान सहयोग कार्यक्रमलाई निरन्तरता दिने र सामुदायिक विद्यालयहरुमा ईन्टरनेट सेवा विस्तार गरिने भएको छ । यस्तै विपन्न, दलित, चेपाङ छात्रा, बुहारीहरुको शिक्षामा सहज पहुँच र प्राविधिक शिक्षामा प्रोत्साहन गर्न विभिन्न छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

पालिकाले आर्थिक विकासतर्फ ३ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै कृषितर्फ १ करोड ७२ लाख बजेट विनियोजन गरेको छ । पालिकामा उत्पादन हुन सक्ने तुलनात्मक लाभका नगदे बालीहरु कफी, अलैची, ओखर, चिया, काजु, कुरिलो लगायतको उत्पादन सम्बन्धी सम्भाव्यता अध्ययन गरी नगदे बाली विस्तार कार्यक्रम सञ्चालन गरिने जनाएको छ । यस्तै माटो परीक्षण प्रयोगशाला सेवा विस्तार गर्दै वडास्तरमा घुम्ती माटो परीक्षण शिविर सञ्चालन गरिने भएको छ । यस्तै पालिकामा निर्माणाधिन चेपाङ संग्रहालय, कोसेलीघर निर्माण सम्पन्न गराएर सो समुदायको पुरातात्विक महत्वका थप वस्तुहरुको संकलन एवम संरक्षण गरिने भएको छ ।

यस्तै स्वास्थ्यतर्फ ४ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पालिकाभित्र बसोबास गर्ने विपन्न घरपरिवारहरुलाई ७५ प्रतिशत अनुदानमा स्वास्थ्य बीमा कार्यक्रममा समावेश गराई गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गर्न स्वास्थ्य बीमा अनुदान कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यस्तै गाउँपालिका अन्तर्गतका वडाहरुबाट राक्सिराङ आधारभुत अस्पतालसम्म निःशुल्क स्वास्थ्य बस सेवा सञ्चालन गरिने भएको छ । पालिकाले पूर्वाधार विकास विकासतर्फ ७ करोेड रुपैयाँ बजेट विनियोजन गरेको छ ।