दश जोड दुई तह अध्ययन गर्दागर्दै शिक्षण गर्न सुरु गर्नुभएका हेटौँडा–३ निवासी शिव बर्तौलाले ४० औं वर्ष उमेर पुग्दै गर्दा शिक्षक सेवा आयोगले लिएको परीक्षामा सफ भई प्राथमिक तहको शिक्षकको नियुक्ति पाउनुभएको छ । मकवानपुर जिल्लामा ३०४ जनाले प्राथमिक तहको शिक्षकको नियुक्ति लिँदै गर्दा बर्तौला जस्तै सेवाप्रवेश गर्ने उमेर हदको अन्तिम वर्षमा नियुक्तिपत्र बुझ्नेको संख्या थोरै छ । २ वर्ष निजी विद्यालयमा र १८ वर्षदेखि राहत शिक्षक कोटामा हेटौँडा–१९ स्थित अरनिको माविमा अध्यापन गराउँदै आउनुभएका शिक्षक शिव बर्तौलाको सेवाक्षेत्र मकवानपुरको मनहरी गाउँपालिका परेको छ । छिट्टै पालिकाले उहाँसँगै नवनियुक्त शिक्षकलाई विद्यालयमा खटाउनेछ । २० बर्षदेखि शिक्षण सेवामा रहनुभई हालै स्थायी नियुक्ति बुझ्नु भएका शिव बर्तौलासँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः लामो समय शिक्षण पेशामा रहनुभयो । अहिले प्रावि तहको स्थायी नियुक्ति पत्र लिँदै गर्दा कस्तो महसुुस गर्नुभयो ?
बर्तौलाः नियुक्तिपत्र लिँदै गर्दा मलाई एकदम रमाइलो महसुस भयोे । करिब दुई वर्ष निजी विद्यालयको शिक्षकको रुपमा र करिब १८ वर्ष राहत शिक्षकको रुपमा काम गरेपछि स्थायी हुँदा र लगभग २० वर्ष अर्थात दुई दशक शिक्षक पेसामा काम गर्न पाउँदा निकै खुशी छु ।
समाजः तपाई यो २० वर्षको शिक्षण अवधिमा कतिवटा विद्यालयमा अध्यापन गराउनुभयो ?
बर्तौलाः सुरुवातमा चाहीँ चितवनस्थित एउटा बोर्डिङ स्कुलबाट काम गरेको थिएँ । करिब ९–१० महिनाको अध्यापनपछि हेटौंडा आएर रिलायन्स बोर्डिङ स्कुलमा ९–१० महिना पढाएँ । त्यसपछि हेटौँडा–१९ मा रहेको अरनिको माविमा २०६२ साल जेठ २ गतेदेखि पढाउन थालेको अहिलेसम्म त्यहीँ छु ।
समाजः अब चाहिँ तपाईको नियुक्ति कता हुन्छ ?
बर्तौलाः पालिका छनौटमा मेरो मनहरी गाउँपालिकामा परेको छ । मनहरी गाउँपालिकामा १७ वटा विद्यालयमा २३ वटा कोटा रहेकोमा प्रक्रिया अनुसार कुन विद्यालयमा पर्छ, त्यो चाहिँ थाहा भएको छैन ।
समाजः तपाईले कति पटक शिक्षक सेवा आयोगको परीक्षा दिनुभयो वा कतिऔँ पटकमा नाम निकाल्न सफल हुनुभयो ?
बर्तौलाः यो १८ वर्षको अवधिमा मैले जम्मा दुई पटक मात्र परीक्षा दिएको थिएँ । पहिलो पटकमा राम्रोसँग तयारी नगरी परीक्षा दिएको भएर सफल हुन सकेन । धेरै वर्षपछि यो दोस्रो पटकमा सफल भएको छु ।
समाजः के कस्तो कुरामा जोड दिएर तयारी गर्दा नाम निकाल्न सजिलो हुने रहेछ ?
बर्तौलाः जसरी भएपनि यो पेशामा आउँछु र नाम निकाल्छु भनेर एकदम दृढ संकल्प गरी पढियो भने सजिलो हुन्छ । पहिलो पल्ट तयारी गर्नेहरुले पाठ्यक्रम अनुसार अनलाइन कक्षा वा भौतिक कक्षाको निर्देशन लिएर तयारी गर्दा अझ नाम निकाल्न सहज हुदो रहेछ ।
समाजः तपाईले स्थायी भएर विद्यालय गईसकेपछि उक्त विद्यालय र विद्यार्थीका लागि के–के गर्ने परिकल्पना गर्नु भएको छ ?
बर्तौलाः अहिलेसम्म काम गरेको विद्यालयमा पनि जोश जाँगरले नैं काम गर्दै आएको छु । अब नियुक्त भएर जुनसुकै विद्यालय गएपनि आफ्नो रुटिन अनुसार कक्षाकोठामा गएर पढाउनेदेखि लिएर अतिरिक्त क्रियाकलापमा समेत जोश जाँगरका साथ काम गर्ने योजना बनाएको छु ।
समाजः सामुदायिक विद्यालयलको शैक्षिक गुणस्तरमा सुधार र विद्यार्थीको क्षमता विकास हुन नसक्नुको कारण के हो भन्ने ठान्नुहुन्छ ?
बर्तौलाः धेरै वर्ष गरिएकोले अध्ययन र अध्यापनको अनुभवलाई हेर्दा यसको मुख्य कारण व्यवस्थापन र प्रशासनको कमजोरी देखिन्छ । यसलाई पुनर्गठन गर्नुपर्ने देखिन्छ । सामुदायिक विद्यालय पर्याप्त दक्ष शिक्षकहरु भए तापनि त्यहाँ राजनीतिक दलका हस्तक्षेप बढी हुने भएकोले यस्तो अवस्था सिर्जना भएको देखिन्छ । व्यवस्थापन समितिले निष्पक्ष निर्देशन दिन र प्रशासनले चुस्तदुरुस्त बनाएर ती दक्ष शिक्षकहरुलाई प्रयोग गर्न सकियो भने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर तथा शैक्षिक क्रियाकलापमा सुधार ल्याउन सकिन्छ ।
समाजः विद्यालयको शैक्षिक सुधारका लागि प्रधानध्यापकको भूमिका कत्तिको सक्षम हुनुपर्छ ?
बर्तौलाः विद्यालयको शैक्षिक सुधारका लागि प्रधानाध्यापक एकदम सक्षम हुन आवश्यक छ । विद्यालयको प्रधानाध्यापकले सबै शिक्षक र कर्मचारीलाई निर्देशन र नियन्त्रण गर्न सक्नुपर्दछ । त्यस्तै, प्रधानाध्यापकले विद्यालयको अन्य शिक्षक तथा कर्मचारीहरुसँग समन्वय गरी एजेण्डालाई अगाडि बढाउन सक्ने, योजना बनाई कार्यान्वयन गर्न सक्ने र निर्णय लिन सक्ने भयो भने सामुदायिक विद्यालयको शैैक्षिक गुणस्तरमा सुधार आउने देखिन्छ । यी सबै कुरामा सक्षम प्रधानाध्यापक भएका कतिपय विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार भएको थुप्रै उदाहरणहरु पनि रहेका छन् ।