हेटौंडाः हेटौंडा–८ स्थित सिर्जनशील टोलबाट ७ बालबालिकाको उद्दार गरिएको छ । ५ जना श्रम गरिरहेका र बीचैमा पढाइ छोडेर बसेका २ बालकलाई उद्दार गरिएको छ । ८ वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई उद्दार गरिएको हेटौंडा–८ का वडा सहजकर्ता रोजिता दंगालले जानकारी दिनुभयो ।
विशेष सूचनाको आधारमा बालश्रमिक उद्दार तथा पुनस्र्थापना उपसमिति, वडा सहजकर्ता, बाल हेल्पलाइन, टोल विकास संस्थाको नेतृत्वमा मंगलबार बालबालिकालाई उद्दार गरिएको हो । १५ वर्षीय ट्रयाक्टर चालक, गिट्टीबालुवा अनलोड गर्ने बालक र पढ्न नगएका बालबालिकालाई उद्दार गरिएको हो ।
घरमा आमा सुत्केरी रहेको र बाबुले घरमा नहेर्ने भएकाले आफूले ट्रयाक्टर चलाउनुपरेको बालकले बताएका छन् । दैनिक ७ सय रुपैयाँ कमाइ हुने उनको भनाई छ । बीचैमा पढाइ छोडेर बसेका ती बालबालिकालाई पुनः विद्यालय जाने वातावरण निर्माण गरिने बाल हेल्पलाइनका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो । श्रम तथा रोजगार कार्यालयको अनुमतिमा बिहीबारमात्र के गर्ने भन्ने विषयमा निर्णय लिइने उहाँले बताउनुभयो ।