हेटौँडाः एफसी विजय युथ क्लबको आयोजनामा मंगलबारबाट हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा विजय युथ गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । एफसी विजय युथका अध्यक्ष सुदीप राजबाहकको अध्यक्षता तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको थियो ।
उद्घाटन खेलमा आयोजक एफसी विजय युथ क्लबले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा अग्रसर युथ क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । उद्घाटन खेलको म्यान अफ द म्याच लोरी घोषित भए । प्रतियोगिताअन्तर्गत बुधबार दुइ खेल हुनेछ । बुधबारको पहिलो खेलमा रिगल हेटौँडा रिसोर्ट मकवानपुर र नागस्वती एफसी बीच भिडन्त हुनेछ भने दोस्रो खेलमा समाज कल्याण एफसी र बागमती प्रदेश प्रहरी गण बीच हुनेछ ।
प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विजय यूथ क्लबका अध्यक्ष सुदिप राजबाहकले जानकारी दिनुभएको छ । प्रतियोगिता आयोजनाका लागि १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।