प्रशिक्षार्थीसहित तेक्वान्दो प्रशिक्षक युसुफ हुसेन ।

हेटौँडाः हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा नियमित ४० जना बालबालिका तेक्वान्दो प्रशिक्षणमा सहभागी भइरहेका छन् । नियमित प्रशिक्षणमा ९ जना बालिका र ३१ जना बालक सहभागी भइरहेका छन् ।

मानसचोक, संगमचोक, दक्षिणकाली, वासुदेव मार्ग, काँग्रेसचोकका बालबालिका प्रशिक्षणमा सहभागी छन् । हेटौँडा–१, चौकीटोलका १८ वर्षीय प्रशिक्षक युसुफ हुसेनले बालबालिकालाई नियमित प्रशिक्षण दिने गर्नुभएको छ । उहाँले २ बर्षदेखि तेक्वान्दो प्रशिक्षण दिइरहनुभएको छ । साताको ६ दिन तालिका अनुसारले प्रशिक्षण गराउने गरिएको छ । मामा, मामाको छोराछोरी सबै पहिलैदेखि तेक्वान्दो खेलमा प्रख्यात भएको र तेक्वान्दो अरु खेलहरु भन्दा अलि सुरक्षित हुने भएकाले आफूले सिकेर भाइबहिनीहरुलाई पनि सिकाइरहेको बताउनुहुँदै प्रशिक्षक हुसेनले भन्नुभयो, “अरु खेलहरुमा रियल फाईट हुन्छ भने यो खेल एक स्पोर्टस् पनि भएको कारणले गर्दा सानै उमेरदेखि ठूलो उमेरसम्मका व्यक्तिहरुले पनि खेल्न मिल्ने र विभिन्न फरक खालको विधाहरु भएको कारणले तेक्वान्दो खेलमा रुचि बढेको हो ।”

युसुफ हुसेनका अनुसार तेक्वान्दो खेल आत्मरक्षाका लागि एकदमै उपयोगी खेल हो । खेललाई कतिको प्राथमिकता दिएको छ, घरमा कतिको ट्रेनिङ गरेको छ, दिमागलाई कतिको स्थिर राखेको छ, सोही अनुसार आफ्नो आत्मरक्षा गर्न सकिने हुसेनको भनाइ छ । तेक्वान्दो प्रशिक्षण सञ्चालन गर्दै गर्दा शरीर फूर्तिलो, स्वस्थ, खानपानमा ध्यान जाने, अन्य अनावश्यक काममा ध्यान नजाने र आफुमार्फत धेरै बालबालिमा खेल कौशलको विकास हुने भएको परिवारबाट पनि राम्रो प्रतिक्रिया पाएको हुसेन बताउनुहुन्छ ।

गतवर्ष कातिक ६ गते धनुषाधाम नगरपालिकामा सम्पन्न भएको प्रथम मधेश प्रदेश मेयर कपमा सिद्धार्थ माविको टिम तृतीय स्थान हासिल गर्न सफल भएको बताउनुहुँदै हुसेनले आफ्नो भविष्य नै तेक्वान्दोमा रहेको दावी गर्नुहुन्छ । खेलाडीको रुपमा देशलाई चिनाउने राष्ट्र र अन्तर्राष्ट्रियस्तरबाट नेपालाई स्वर्ण पदक दिलाउने योजना उहाँको छ ।

हुसेनले अहिलेसम्म चार वटा स्वर्ण पदक हासिल गरिसक्नुभएको छ । राष्ट्रपति रनिङ सिल्ड र जिल्लास्तरीय छनौटमा ३ पटक लगातार स्वर्ण पदक हासिल गर्न सफल भएको र गत वर्ष भएको मकवानपुर जिल्ला तेक्वान्दो प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भएको हुसेनले बताउनु भयो ।