हेटौँडाः हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा मोहन बज्राचार्य सहरी स्वास्थ्य केन्द्रको व्यवस्थापन तथा मदन भण्डारी प्रतिष्ठानको सहकार्यमा बृहत् निःशुल्क स्वास्थ्य शिविर भएको छ । शनिबार भुवनेश्वर पशुपति मन्दिर परिसरमा भएको शिविरमा वडाका ५ सय ८८ जनाले स्वास्थ्य जाँच गरेका छन् ।
शिविरमा नाक, कान र घाँटीका विशेषज्ञ ईन्क्लाव ढुङ्गाना, स्त्री स्वास्थ्य विशेषज्ञ डा. प्रशान्तराज शर्मा, बाल स्वास्थ्य विशेषज्ञ डा. विनोमराज शर्मा र फेमिली फिजिसियन अमर यासिरसहितका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरेका थिए । वडा सदस्य जनरल श्रेष्ठको अध्यक्षता तथा वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा भएको शिविर उद्घाटन कार्यक्रममा वडावासी शान्ति ढुंगानाद्वारा लिखित नारी सन्देश शीर्षकको पुस्तक विमोचन गरिएको थियो ।
शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडाअध्यक्ष नवीन सिग्देलले स्वास्थ्य सेवाको क्षेत्र वडाको प्राथमिकताको क्षेत्र भएको बताउनुभएको छ । वडा सदस्य जनरल श्रेष्ठले नगरको मध्यभाग, स्वास्थ्य उपचारको सहज सुविधा हुँदा पनि स्वास्थ्य समस्या भएका महिलाहरु उपचार नै नगरी बसेका र शिविरमा आएर परीक्षण गराउँदा स्वास्थ्यमा जटिलता देखिएको बताउनुभयो । केही जटिल अवस्थाका विरामीलाई थप उपचारका लागि स्वास्थ्यकर्मीले आवश्यक परामर्श पनि दिएको उहाँले बताउनुभयो ।