हेटौँडाः युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्य गर्ने उद्देश्यले स्थापना भएको चैनपुर जेसीजले सडकआश्रित बालबालिकाको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलनको कार्य गर्दै आएको मामाघर नेपाललाई सहयोग गरेको छ । चैनपुर जेसीजका महासचिव रविन ढकालको जन्मदिनको अवसरमा आइतबार एक कार्यक्रमकाबीच मामाघर नेपालमा रहेका बालबालिकालाई एकदिनको खाजा खुवाउनुको साथै भाँडा राख्ने र्याक र विस्कुट सहयोग गरेको हो ।
मामाघरमा २६ जना बालकहरु आश्रित छन् । जन्मदिनको सन्दर्भमा सडक बालबालिकाको हेरचाह गर्दै आएको संस्थामा सहयोग गरेर मनाइएको चैनपुर जेसीजका महासचिव रविन ढकालले बताउनुभयो । कार्यक्रम संयोजक कृष्णप्रसाद ढकालको संयोजकत्व एवम् अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मामाघर नेपाल संस्थाका परिकल्पनाकार एवम् संरक्षक अर्पण पराजुलीको प्रमुख आतिथ्य रहेको थियो । पराजुलीले संस्थाको स्थापनादेखि हालसम्मको अवस्थाको विषयमा जानकारी दिनुहुँदै यस्तै सहयोगबाट सञ्चालन हुँदै आएको जानकारी दिनुभयो ।
‘सडकमा रहेका बालबालिकाको हितमा काम गर्ने गरी संस्था स्थापना भएको हो । यस्तै विभिन्न व्यक्ति तथा संघ, संस्थाले विभिन्न समयमा गर्दै आएको सहयोगबाट संस्था चल्दै आएको छ’, पराजुलीले भन्नुभयो, ‘मनकारी व्यक्तिहरुप्रति आभार व्यक्त गर्न चाहन्छौं ।’ कार्यक्रममा हेटौंडा लेडी जेसीजका पूर्व अध्यक्ष प्रतिमा श्रेष्ठ, चैनपुर जेसीजका कार्यकारिणी उपाध्यक्ष महेन्द्र राना मगर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु अधिकारी, कुखुरा व्यवसायी संघ मकवानपुर अध्यक्ष राजन मैनाली, चैनपुर जेसीजका अध्यक्ष सल्लाहकार एवम् हेटौँडा ६ नम्बर वडा सदस्य विजय पौडेलको पनि आतिथ्य रहेको थियो । कार्यक्रमका अतिथिहरुलाई मायाको चिनोस्वरुप पुस्तक उपहार दिइएको थियो ।