प्रारम्भिक बालविकास कक्षाकोठा ।

हेटौँडाः एक वर्षअघिसम्म विद्यालय परिसर विरक्त लाग्दो थियो । कक्षाकोठा व्यवस्थित थिएन, विद्यालय परिसर निर्माण सामग्रीले अस्तव्यस्त थियो । शौचालय पनि सफा र बालबालिकामैत्री थिएन । पानीको उपलब्धता पनि पर्याप्त थिएन । शैक्षिक क्रियाकलापका लागि पनि स्रोत साधनको अभाव थियो । यो अवस्था मकवानपुरको बागमती गाउँपालिका–५, भोर्लेनीस्थित गीता आधारभूत विद्यालयको हो ।

तर, अहिले गीता आधारभूत विद्यालयको परिसर खुला र सफा छ । विद्यार्थीहरु खेल्न, कुद्न, उफ्रन कुनै डर छैन । प्रारम्भिक बालविकास कक्षादेखि २ कक्षासम्म सुन्दर कक्षाकोठा निर्माण गरिएको छ । शौचालय व्यवस्थित र बालबालिकाले सहजै प्रयोग गर्न सक्ने अवस्थाको छ । शौचालय प्रयोेगपछि हात धुन बालबालिकाले सहजै धाराको प्रयोग गर्न सक्छन् । पानीको व्यवस्था राम्रो छ । पिउने पानीको पनि राम्रो व्यवस्था छ । विद्यार्थीका लागि सुरक्षित र सहज कक्षाकोठा मात्रै नभई शिक्षकका कोठा समेत आकर्षक र व्यवस्थित छ । विद्यार्थीका लागि गीत, संगीतसहित क्रियाकलापमा आधारित भई शिक्षण सिकाईका लागि स्पिकर उपलब्ध छ । एक वर्षको बीचमा विद्यालयको आमूल परिवर्तनमा सामुदायिक विकास संस्था (सिडिओ) नेपालले सहयोग गरेको छ ।

सिडिओ नेपालको करिब १० लाख रुपैयाँको सहयोगमा गीता आधारभूत विद्यालयको आमूल परिवर्तन भएको छ । गीता आधारभूत विद्यालयका प्रधानाध्यापक रामहरि केसी भन्नुहुन्छ, “विद्यालयमा सिडिओ नेपालको सहयोगले हामीलाई ठूलो सहयोग मिलेको छ । विद्यार्थीका लागि उपयुक्त वातावरण तयार पार्न सिडिओ नेपालको सहयोग उल्लेखनीय छ ।” ८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा एक सय ७० जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक केसी बताउनुहुन्छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा सिडिओ नेपालले बागमती गाउँपालिकामा गीता आधारभूत विद्यालयमा मात्रै काम गरेको हो । सिडिओ नेपालका कार्यकारी निर्देशक जंगबहादुर बिश्वकर्मा भन्नुहुन्छ, “प्लानको सहयोगमा हामीले विद्यालयको ससाना र मझौला प्रकृतिका अभावको समाधान गरेका छौं । विद्यालयको समग्र वातावरणमा सुधार गरेसँगै विद्यार्थीको संख्या र टिकाउको दर बढेको छ ।” पालिकाकै सिफारिसमा सहयोग गनर्ने विद्यालय छनोट गरी आवश्यक सहजीकरणको कार्य गर्दै आएको कार्यकारी निर्देशक बिश्वकर्माको भनाइ छ ।

प्लान इन्टरनेशलनसँगको सहकार्यमा सिडिओ नेपालले गीता आधारभूत विद्यालयमा गरेको सहयोगले शिक्षकको मनोवल बढेको, विद्यार्थीमा उत्प्रेरणा जाडेको उहाँले दावी गर्नुभएको छ । पहिले विद्यालय परिसरनै विद्यार्थीका लागि असुरक्षित रहेको उल्लेख गर्नुहुँदै बिश्वकर्माले भन्नुभयो, “हामीले करिब ८० हजार रुपैयाँ खर्च गरेर विद्यार्थीका लागि सुरक्षित खेलमैदान र विद्यालय परिसर तयार पारिदिएका छौं ।” सिडिओ नेपालका कार्यक्रम संयोजक अर्जुन खड्का खिता आधारभूत विद्यालयमा गरिएको सहयोगले विद्यालयको समग्र सुधारमा सहयोग पुगेको दावी गर्नुहुन्छ ।