राधा सिन्तान

आजभोलि सामाजिक सञ्जाल यसो हे¥यो कि विभिन्न संघ, संस्था, स्थानीय तहहरुले दिनानुदिन विभिन्न सीपमूलक, व्यवसायमूलक तालिमहरु प्रदान गरेको फोटाहरुको ओइरो नै लागेको देखिन्छ । धेरै पोष्टहरुमा लाईक पनि गरिन्छ । खुसी पनि लाग्छ यस्ता कार्यक्रमहरुको तस्बिर देख्दा । तर आजकाल यी तस्बिरहरू हेरिरहँदा मनमा एउटा कुराको खुलदुली मचिरहेको हुन्छ कि मकवानपुर जिल्लाका यस्ता सीपमूलक तालिम लिने सहभागीहरु कुन स्थानीय तहबाट कति जनाले कुन–कुन तालिमहरु लिए होलान् ? विषय विज्ञता कतिले हासिल गरे होलान् ? कति जना यसबाट स्वरोजगार भए होलान् ? कति जनाले यस्ता तालिम लिए पश्चात रोजगारी प्रदान गर्नु भयो होला ? कति जनालाई विदेश पलायन हुनबाट रोक्न सकियो होला ? कति जना आज विगतमा त्यस्तै तालिम लिएकाहरुले सिकेको सीपलाई प्रयोग गरी आयआर्जन गरिरहनु भएको होला ?

के सधैं तालिममा मात्र वार्षिक करोडौँ रकम खर्चिरहने मात्र हो त ? यसको उपलब्धि के भइरहेको छ ? के कहिले हामी तालिम दिने निकायले त्यसको समीक्षा गरेका छौँ त ? अहिलेसम्म तालिममा खर्च गरेका रकमबाट के कति उद्योग संचालन गर्न सकिन्थ्यो र त्यसबाट के कति रोजगार हुन्थे होलान् ? देशबाट दैनिक लाखौं नागरिक विदेशी भूमिलाई स्वर्ग बनाउन आफू पलपल पिल्सिएर परदेशी जीवन बाँच्न बाध्य भएकाहरुको लागि हाम्रो तर्फबाट आफ्नो हातमा सत्ताको शक्ति भएका र बजेट खर्च गर्ने ठाउँमा पुग्दा के कति ग¥यो भनेर ढुक्कले देखाउन सक्ने काम भयो त ?

यो कुराको छिट्टै हरेक तालिम प्रदायक संघ, संस्थाहरुसँग बलियो तथ्याङ्क हुने गरी काम गर्न सकिन्छ कि ? कि असार मसान्तसम्म बजेट जसरी नि सकाउनु पर्छ भन्ने दाउमा मात्र हाम्रो ध्यान गइरहेको त छैन ? कति तालिम लिने उद्यमी, व्यवसायी बन्न सके ? कतिको व्यवसायको उत्पादनले बजार पाएको छ कि छैन ? त्यसको दिगो व्यवस्थापनका लागि हाम्रो साथ र सहयोग के कसरी रहन्छ ? यस्ता कुराहरुमा हाम्रो दीर्घकालिन योजना के कस्तो बनेको छ त ? के यसतर्फ पनि हामी सरोकारवालाहरुले ध्यान दिएका छौँ त ?

गरिबी बढ्यो, बेरोजगारी बढ्यो भन्ने हामी यसको न्यूनिकरणमा के कती काम भयो भन्ने देखिने तथ्यांकगत कार्यहरुको बारेमा पनि सोच्न पर्ने हो कि ? हिजोका दिनमा हामी नै विभिन्न गैरसरकारी संस्थाहरुले तालिमहरु दिँदा यस्ता कार्यको दिगोपनाका बारेमा प्रश्न उठाउथ्यौँ होला ।

आज आफैँले कामलाई पूर्णता दिइरहेको अवस्थामा के हामीसँग यस्ता प्रश्नहरुको जवाफस्वरुप कार्य प्रगति छ त ? वर्षान्तको बजेट सकाउन मात्र कार्यक्रम नबनोस् । कोहि विदेश जानबाट यहि नै लिएको तालिमबाट यति जना स्वरोजगार बने भन्ने पोष्टहरु पनि हेर्न पाए मनमा उठेको खुलदुली केही कम हुन्थ्यो कि ? जिज्ञासा मात्र राखेको कसैले नराम्रो नसोचिदिनु होला । धन्यवाद ।