हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले असार २ गते शनिबार आगामी आर्थिक वर्ष २०८०–८१ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने भएको छ । शनिबार हुने नगरसभाको १३ औँ अधिवेशनमा नगरको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने नगर उपप्रमुख राजेश बानियाँले जानकारी दिनुभयो ।
उपमेयर बानियाँले भन्नुभयो ‘अहिले उपमहानगरको आगामी आर्र्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट बनिरहेको छ । आजभोलिमै सम्पन्न हुन्छ । यसपटक हामीले चाँडै प्रस्तुत गर्नेर्छौँ ।’ असार १० गतेसम्म सबै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधन छ । हेटौंडाले यस पटक चाँडै नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न लागेको हो । हेटौंडाको आगामी आर्थिक वर्षको बजेट घटेर आउने भएको छ । संघीय सरकारबाट हेटौंडालाई आगामी आर्थिक वर्षका लागि १ अर्ब १४ करोड ५० लाख प्राप्त भएको छ ।
मकवानपुरको बकैया गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेबारे तयारी गरेको छ । शुक्रबार बैठकले बसेर पालिकाले कार्यक्रमबारे टुङ्गो लगाउने बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले जानकारी दिनुभयो । यस्तै बागमती गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिनाले पनि पालिकाको बैठक चाँडै गरेर नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेबारे टुङ्गो लगाउने बताउनुभयो ।