हेटौँडाः बागमती प्रदेश युवा परिषद्को आयोजनामा आगामी असार ११ र १२ गते हेटौँडामा प्रदेश युवा सम्मेलन हुने भएको छ । सोमबार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गर्दै आयोजक प्रदेश युवा परिषद्ले सम्मेलनबारे जानकारी गराएको हो ।

बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले सम्मेलनबारे जानकारी गराउनुभयो । युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार, नवप्रवर्तन, उद्यमशीलता र व्यक्तित्व विकास गर्न सम्मेलन आयोजना गरिएको उपाध्यक्ष चौलागाईले बताउनुभयो । अहिले सबै क्षेत्रमा युवाहरुको सहभागिता सोचेअनुरुप नभइरहेको उहाँले बताउनुभयो । देशमा युुवाहरु अहिले रित्तिँदै गइरहेको अवस्था जोगाउन सम्मेलन आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार बनाउन, नवप्रवर्तन, उद्यमशीलता र उच्च व्यक्तित्व विकास गर्न प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलनको आयोजना गरिएको कार्यकारी उपाध्यक्ष चौलागाईको भनाइ छ ।

प्रदेश युुवा परिषद्की अध्यक्ष एवम् बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेशभित्रका युवाहरुको सन्दर्भमा केही गरौं र नयाँ गरौं भन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो । कार्यक्रमले समग्र युवालाई अगाडि बढाउन प्रभावकारी भूमिका निर्वाह गर्ने उहाँको भनाई छ । आयोजना गर्न लागिएको सम्मेलन अरुभन्दा फरक भएकाले युवाहरुका लागि यो अवसरको कुरा रहेको उहाँले बताउनुभयो । उहाँले प्रदेश युवा परिषद्का क्रियाकलाप उल्लेखनीय र प्रभावकारी भएको पनि दावी गर्नुभएको छ ।

सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशी अवधारणाअनुसार १ सय ५० युवाको सहभागिता रहने जनाइएको छ । सम्मेलनमा युवाको सहभागितालाई प्रभावकारी बनाउन जिल्लाको सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायलाई प्राथमिकता दिई कम्तिमा २ जना युवा महिला सहभागी हुने जनाइएको छ ।

जिल्लाबाट जिल्ला युवा समितिमार्फत् नै ७५ जना सहभागी सिफारिस गर्नेछ भने अनलाइनमार्फत् सहभागिताका लागि ६० जना युवा सहभागी हुने जनाइएको छ । यस्तै, सरोकारवाला निकायको सिफारिसमा १५ जना सहभागी हुनेछन् । सम्मेलनमा २० देखि ३५ वर्ष उमेर समूहका युवाहरु सहभागी हुने जनाइएको छ ।

सम्मेलनमा युवालाई अभिमुखीकरण र अभिप्रेरित गर्ने गरी ख्यातिप्राप्त व्यक्तित्व, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वलाई श्रोतव्यक्तिको रुपमा सहभागी गराउने जनाइएको छ । सम्मेलनमा सहभागी युवाले आफ्ना अनुभव, अपेक्षा र योजना प्रस्तुत गरेर श्रोतव्यक्तिसँग अन्तरक्रिया गर्ने जनाइएको छ ।

सम्मेलनमा ५ वटा सत्रको आयोजना गरिने जनाइएको छ । सम्मेलनमा नवप्रवर्तन र नवीनतम् सोचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमले युवासँग अन्तरक्रिया गर्नुहुनेछ । सूचना प्रविधिका विषयमा युवा वैज्ञानिक कोषका सदस्य डा. गिरिराज त्रिपाठीले सम्मेलनमा सहभागी युवासँग अन्तरक्रिया गर्नुहुनेछ । यस्तै, सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टीकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गर्नुहुने जनाइएको छ ।

उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डाक्टर अनकल अनलाइनका सञ्चालक डा. सुयश कार्की र नेपाली उत्पादनको प्रवद्र्धनमा सक्रिय पूर्वमिसनेपाल अनुष्का श्रेष्ठले अन्तरक्रिया गर्नुहुनेछ । यस्तै, सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले युवामाझ आ–आफ्ना प्रस्तुति र अन्तरक्रिया गर्नुहुने जनाइएको छ ।