हेटौँडाः हेटौँडा–१, चाइनाक्वार्टरमा वृद्ध दम्पत्तिले आत्महत्या गरेका छन् । शुक्रबार राती ९ बजेको समयमा ७८ वर्षीय कृष्णप्रसाद दाहाल र ७४ वर्षीया नन्दकुमारी दाहालले झुण्डिएर आत्महत्या गरेका हुन् । तीनतले घरको ट्रसले छाएको पुजा कोठामा वृद्ध दम्पत्ति झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटना भएको घर जिल्ला प्रहरी कार्यालयदेखि ५ सय मिटर नजिक छ । दाहाल दम्पत्तिकी बुहारी मनु दाहाल वडा सदस्य समेत हुनुहुन्छ । स्थानीय अमर माविकी प्रधानाध्यापक मालती उप्रेती वृद्ध दम्पत्तिको आत्महत्याको घटनाले अचम्ममा परेको बताउनुहुन्छ । २५ वर्षदेखि देख्दै आएका दम्पत्ति कहिल्यै छुट्टाछुट्टै नदेखिएको, परिवारको आर्थिक, सामाजिक अवस्था र घरासयी वादविवाद पनि कहिल्यै नसुनेको परिवारमा यस्तो घटनाले आश्चर्यमा पारेको उप्रेती बताउनुहुन्छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।