हेटौंडा अस्पतालको अनुगमन गर्नु हुँदै स्वास्थ्य मन्त्री मोहन बस्नेत ।

हेटौंडाः स्वास्थ्य मन्त्रालय विकासे मन्त्रालय नभएको स्वास्थ्य मन्त्री मोहन बस्नेतले बताउनुभयो । बिहीबार हेटौंडा अस्पतालको अनुगमन गर्न आउनुभएका मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय मानिसको स्वास्थ्यसँग जोडिएको मन्त्रालय भएकोले विकासे मन्त्रालय नभएको बताउनुभएको हो ।

स्वास्थ्य क्षेत्रमा छोटो समयको गल्तीले हजारौंको ज्यान जानसक्ने क्षेत्र भएको र राम्रो काम गर्दा हजारौंलाई बचाउन सक्ने क्षेत्र भएको उहाँको भनाई छ । सरकारले मन्त्रालयको तर्फबाट स्वास्थ्य क्षेत्रमा भएको कमिकमजोरी सुधार्दै जाने बताउँदै उहाँले बिरामीले उपचार पाउने पद्धतिमा सहजिकरण गर्नु पर्नेमा जोडदिनुभयो । सबै सरकारी मातहतका मन्त्रालयले गरेको काम पारदर्शी बनाउन पर्ने भन्ने हिसाबले आफुले काम गरेको उहाँले बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा सुधारको लागि आफु लागिपरेको बताउँदै मन्त्री बस्नेतले काठमाण्डौको वीर अस्पताल, गंगालाल अस्पताल लगायतनिजी अस्पतालको अनुगमन गरेको र उपत्यकामा मात्रै नभई उपत्यका बाहिर पनि हेर्नु पर्छ भन्ने हिसाबले अनुगमनको लागि आएको उहाँको भनाई रहेको थियो । उहाँले कुनै कार्यालयमा आवश्यक जनशक्ती पनि नहुने र कुनै कार्यालयहरुमा आवश्यक्ता भन्दा बढी जनशक्ति रहेको उल्लेख गर्नुभयो ।

सरकारले स्वास्थ्य क्षेत्रमा अस्पतालको कुल शैयाको १० प्रतिशत शैया गरिब निमुखाको लागि छुट्याएको भएपनि कार्यान्वयन नभएको उहाँले बताउनुभयो । देशभर २२ जिल्लामा विपन्न गरिब भनेर कार्ड बाडिएको जानकारी दिनुहुँदै उहाँले अर्को व्यवस्था नभएसम्मका लागि वडा अध्यक्षको सिफारिसमा निशुल्क बेड उपलब्ध गराउनुपर्ने मन्त्रिपरिषद्बाट निर्णय गरिएको जानकारी दिनुभयो ।
स्वास्थ्य क्षेत्रमा भएका बेथितिहरु आफुले हटाउँदै जाने बताउँदै मन्त्री बस्नेतले भन्नुभयो –‘खरिद प्रक्रियामा मन्त्री देखि कर्मचारीसम्म धेरै वेथितीहरु भेटाएको छु, विभागले त्यस्ता सामनहरु कब्जा गरेर राखेको छ, अति आवश्यक परेका स्थानहरुमा तिसामानहरु पठाउन थालेका छौं ।’ सामान खरिदमा टेन्डर गर्दा बजारमा पाउने भाउ भन्दा महङ्गो पर्न जाने अवस्था रहेकोले अहिले खरिद प्रक्रीयामा रहेका सामानलाई रोक लगाइएको उहाँले बताउनुभयो ।

मन्त्री बस्नेतले अस्पतालमा हुने भीडलाई व्यवस्थित गर्न जानकारीहरु वेवसाइटमा राख्ने, सुचना टाँस गर्ने जस्ता कार्य गर्नुपर्ने बताउनुभयो । स्वास्थ्यमा उपयुक्त सेवा प्रवाह गर्न ट्रमा सेन्टर बढाउने कुरामा आफु लागि परेको उहाँको भनाई छ । आगजानीको बिरामीको लागि किर्तीपुरनै पुराउनुपर्ने अवस्था रहेको बताउँदै उहाँले अर्काे पनि वर्न सेन्टर निर्माण गर्ने नीति लिएको बताउनुभयो ।
हेटौंडा अस्पतालमा प्रत्येक दिन एक हजार बिरामीको उपचार हुने गरेको अस्पतालका प्रमुख डा.रामचन्द्र सापकोटाले बताउनुभयो । अस्पतालमा नयाँ भवन विस्तार भए सँगै बिरामीका सेवाहरु सुधारोन्मुख रहेको बताउँदै कोभिडको बेलामा सरकारको सहयोगमा आईसियू कक्षमा धेरै सुधार भएको, अप्रेशन थिएटरमा हुने सुविधा सवलिकरण गर्न मद्धत पुगेको उहाँको भनाइ थियो । हेटौंडा अस्पताल ६० शैयाको अस्पताल हुँदा १७ वटा आईसियू सञ्चालनमा ल्याएको र दैनिकरुपमा १५ वटा अप्रेशन गर्ने गरेको उहाँले बताउनुभयो । अस्पतालमा एनआईसियु सेवा सञ्चालन गर्नका लागि मन्त्रालयसँग विशेष सहयोगको अपेक्षा राखेको उहाँले बताउनुभयो । उहाँले एमआरआई मेसिन जडानको प्रक्रीयामा रहेको र साउन महिना भित्रबाट एमआरआई सेवा दिन सकीने बताउनुभयो ।