हेटौंडाः ग्रामीण महिला सेवा केन्द्र मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको तीन दिने प्राकृतिक प्रणालीबाट बहुबाली र कौशी खेतीसम्बन्धी तालिम सम्पन्न भएको छ । सेवा केन्द्रकी अध्यक्ष सुलोचना स्याङ्तानको सभाध्यक्ष तथा उपमहानगरपालिकाका कृषि पशुपक्षी शाखाकी प्रमुख गंगा चौलागाईको प्रमुख आतिथ्यमा तालिम सम्पन्न भएको हो ।
सेवा केन्द्रकी अध्यक्ष स्याङ्तानले बजारमा मूल्यवृद्धि भइरहेको बेला उत्पादनसँग जोडेर काम गर्नुपर्छ भनेर तालिम आयोजना गरिएको बताउनुभयो । प्राकृतिक प्रणालीबाट खेती गर्दा शरीरलाई स्वस्थ बनाउने खाद्यवस्तुहरु उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । प्राकृतिक प्रणाली र आधुनिक विधिबाट उत्पादनसँग जोडिन तालिम आयोजना गरिएको उहाँको भनाई छ ।
प्राकृतिक प्रणालीबाट न्यूनतम लगानीमा अधिकतम उत्पादन र लाभ लिन सकिने उहाँले बताउनुभयो । उत्पादन भएको तरकारी तथा फलफूलहरुलाई बजारसम्म पु¥याउन संस्थाले आवश्यक सहयोग गर्ने स्याङ्तानले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाका कृषि पशुपक्षी शाखा प्रमुख चौलागाईले नगरपालिकाले उत्पादनसँग जोड्न समूहलाई अनुदान दिने बताउनुभयो । अहिले योजना तर्जुमा गर्ने कार्य भइरहेको बताउनुहँदै उहाँले यसलाई पनि नीति तथा कार्यक्रममा समावेश गराउन पहल गर्ने बताउनुभयो ।
तालिममा हेटौंडाका ३५ जनाको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रशिक्षक गोपाल भण्डारीले प्राकृतिक मल बनाउने तरिका, बीउ रोप्ने र प्रशोधन गर्ने प्रक्रियाबारे प्रशिक्षण दिनुभएको थियो । यस्तै, पुष्पराज शाहीले कौशी खेतीबारे प्रशिक्षण दिनुभएको थियो ।
अहिले बजारमा जनघनत्व बढ्दै गइरहेको बेला खेतीका लागि जमिन नहुँदा कौशी खेती फाइदा हुने शाहीले बताउनुभयो । घरबाट निस्कने कुहिने फोहोरहरुलाई मल बनाएर छतमा तरकारी र फलफूलहरु खेती गर्न सकिने उहाँले जानकारी दिनुभयो । यसले गर्दा फोहोरको व्यवस्थापन हुने र विषादीरहित तरकारी खान सकिने उहाँले बताउनुभयो ।
पालिकाले बजारका हरेक गृहिणीलाई कौशी खेतीबारे तालिम दिएमा बाहिरबाट तरकारी किन्न नपर्ने उहाँले बताउनुभयो । सेवा केन्द्रकी सचिव अचला शर्माले सहजीकरण गर्नुभएको कार्यक्रममा केन्द्रकी उपाध्यक्ष लक्ष्मी मोक्तानले स्वागत मन्तव्य राख्नुभएको थियो ।