म्यान अफ द म्याच ट्रफी हस्तान्तरण गरिँदै ।

हेटौँडाः तेस्रो संस्करणको हेटौँडा मेयर कप फुटबल प्रतियोगितामा ११ नम्बर वडा र १४ नम्बर वडा सेमिफाइनलमा प्रवेश गरको छ । सोमबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा ११ नम्बर वडाले १ नम्बर वडालाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । यस्तै ९ नम्बर वडालाई सडेन डेथमा पराजित गर्दै १४ नम्बर वडा सेमिफाइनल प्रवेश गरेको हो ।

वडा नम्बर ११ को जितमा एलिस चौलागाईं र मनोज घलानले एक–एक गोल गरे । म्यान अफ द म्याच घलान घोषित भए । १ नम्बरका लागि जेनिश थपलियाले पेनाल्टीमार्फत एक गोल गरे । यस्तै, ९ नम्बर वडालाई सडेन डेथमा हराउँदै १४ नम्बर सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ५–५ गोलको बराबरीपछि खेलको नतिजा सडेन डेनबाट लिइएको हो । म्यान अफ द म्याच १४ नम्बरका अस्मिर गोड्बा घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंगलबार क्वार्टरफाइनलका २ खेल सन्चालन हुनेछ । मंगलबारको पहिलो खेल १५ नम्बर वडा र १९ नम्बर वडाबीच हुनेछ । विजयी टिमले सेमिफाइनलमा १४ नम्बर वडासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै दोस्रो खेल २ नम्बर वडा र १३ नम्बर वडाबीच हुनेछ । विजयी टिमले ११ नम्बर वडासँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलका खेलहरु बुधबार र बिहिबार हुनेछ भने फाइनल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनल प्रवेश गर्ने दुई टिमले ५०–५० प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले ५–५ हजार रुपैयाँ प्राप्त गर्ने जनाएको छ ।