राक्सिराङ गाउँपालिकाले जारी गरेको गर्मी विदासम्बन्धी सूचना ।

हेटौँडाः बढ्दो गर्मीका कारण मकवानपुरको राक्सिराङ गाउँपालिकाले पनि विद्यालयमा विदा दिने निर्णय गरेको छ । आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाले वर्षे विदामा कट्टा हुने गरी सोमबारदेखि शुक्रबारसम्म ५ दिन विद्यालयमा विदा दिने निर्णय गरेको छ । यसअघि मकवानपुरको बकैया गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले पनि उच्च गर्मीका कारण विद्यालयमा विदा दिने निर्णय गरिसकेको छ ।

प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले जारी गर्नुभएको सूचनामा विदाको समयमा बालबालिकालाई दिउँसो घाममा बाहिर निस्कन नदिन, बालबालिकालाई पोषणयुक्त खानेकुरा खुवाउन, प्रसस्त स्वच्छ पिने पानीको व्यवस्था गर्न, बालबालिकालाई रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी हुन प्रोत्साहित गर्न पनि आग्रह गरिएको छ ।