शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना बस्दै विद्यालय कर्मचारी ।

हेटौँडाः नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति मकवानपुरले आइतबारबाट शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरमा धर्ना सुरु गरेको छ । विद्यालय कर्मचारीलाई उचित पारिश्रमिकको व्यवस्था हुन नसकेको भन्दै विद्यालय कर्मचारीले धर्ना बसेर विरोध जनाएका हुन् ।

संघीय सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा उल्लेख भएको सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाको व्यवस्था गरिने भन्ने कुराको बेवास्ता गरिएको विद्यालय कर्मचारी परिषद् मकवानपुरका अध्यक्ष राजन अधिकारीको भनाइ छ । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको निर्देशनअनुसार विरोधको कार्यक्रम सुरु गरिएको जिल्ला अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । धर्ना कार्यक्रम जेठ २६ गतेसम्म जारी रहने अधिकारीले बताउनुभयो ।

देशैभर विद्यालयमा कर्मचारीको दरबन्दी नभएको, अस्थायी, करार वा निजी स्रोतमा न्यूनतम पारिश्रमिक समेत नपाएको, पेशागत सुरक्षा र हकहित सुनिश्चित नभएको भन्दै विद्यालय कर्मचारी लामो समयदेखि आन्दोलित छन् । यसअघिको आन्दोलनका माग समेत पूरा नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलित भएका हुन् ।