हेटौँडाः आँचल साहित्य कलापुञ्ज मकवानपुरको आयोजनामा शुक्रबारदेखि सुरु भएको वृहत् साहित्यिक तथा सांस्कृतिक कार्यक्रम–२०८० समापन भएको छ । आँचलकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा दुई दिने कार्यक्रम शनिबार समापन भएको हो । अन्तिम दिन लैङ्गिक तथा यौनिक अल्पसंख्यकको आवाज शीर्षकमा रचना वाचन, साहित्यमा लैंगिक सवाल, हास्यव्यङ्ग्य प्रस्तुति र कविता, गजल, मुक्तक, सूत्रकथा वाचन गर्दै कार्यक्रम समापन गरिएको छ ।
यस्तै पहिलो दिन आयोजना गरिएको आधारभूत तहस्तरीय नृत्य प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयलाई पुरस्कार वितरण गरिएको छ । हेटौँडा–५, पिप्लेमा रहेको बालज्योति माध्यमिक विद्यालय प्रथम, हेटौंडा–४ मा रहेको ब्रह्मदिक एकेडेमी द्वितीय, हेटौँडा–५ मा रहेको जीएस निकेतन तृतीय र सिद्धार्थ शिशु सदन सान्त्वना भएका थिए । सोही दिन लैङ्गिक अधिकार हाम्रो सरोकार शीर्षकमा बहस र सुर संगमबारे सहजीकरण भएको थियोे ।